पशुपति क्षेत्रको धर्मशाला सरकारको स्वामित्वमा ल्याउने

नेपालखोज २०७८ फागुन १० गते १६:०५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।

आज महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन् ।

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताए । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने पनि बताए ।

पशुपति क्षेत्र विकास कोषको अध्यक्षसमेत रहेका मन्त्री आलेले यस वर्षको महाशिवरात्रि पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्यरुपमा मनाउने तयारी भइरहेको जानकारी दिए । महाशिवरात्रि पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशन समेत दिए । धर्मावलम्बीहरुलाई सहजरुपमा पानीको व्यवस्था, बत्तिको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिए ।

यस वर्षको महाशिवरात्रि पर्व फागुन १७ गते मंगलवारका दिन परेको छ । यस वर्ष सो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मुल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको उनले जानकारी दिए ।

मेलामा आउने दर्शनार्थीहरुको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने पनि उनले उल्लेख गरे । सो दिन दर्शनार्थीलाई सहजताका लागि डिजिटल बत्तिको व्यवस्था गरिने तथा मन्दिर क्षेत्रमा आउनुहुने साधु, सन्तहरुको भोजन र आवासका लागि कोष सचेत रहेको उनको भनाई छ ।

सदस्य सचिव थापाले सो दिन पनि विद्युत् शवदाह क्षेत्र र क्रियापुत्री क्षेत्र सञ्चालन हुने बताए । महाशिवरात्रि पर्वका दिन मदिरा तथा लागुपद्धार्थ मुक्त क्षेत्र बनाउनका लागि विशेष निगरानी र कडाइ गरिने पनि उनले बताए ।

प्रतिक्रिया