‘एमसीसी अनुमोदन गर्न गठबन्धनले पक्षमा भोट हाल्नुपर्यो कि नयाँ समीकरण बन्नुपर्यो’

काठमाडौं । एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन।
पाँचदलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्तामा रहे पनि एमसीसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन।
भट्टराईले अर्को विकल्प अगाडि सारे नयाँ समीकरणमा जान प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन । भट्टराईले भने, ‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो। सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न। यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो । अर्को बाटो छैन ।’

प्रतिक्रिया