एमसीसी देशमा ल्याउने प्रचण्ड र माओवादी नेताको मति राष्ट्रघाती : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले परमादेशको सरकारको बिजोग भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले अब पतन अनिवार्य भएको समेत दाबी गरे ।
उनले एमसीसीलाई लिएर अहिले देशमा जात्रा चलिरहेको पनि बताउनुभयो । सरकारमा भाँडहरुको लुटपाट रहेको र बाहृय सम्बन्ध अविश्वास र संकटमा परेको उनले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे सहमतिमा कृष्णबहादुर महाराले अमेरिकी अधिकारीहरूसँग गरी वार्ता र सहमति गर्दै एमसीसी देशमा ल्याएकाे आरोप लगाए ।
एमसीसी कम्प्याक्ट भन्दै उहाँले बुँदागत रुपमा यस्ताे लेखेका छन् ।
१) देउवा- प्रचण्डकाे सहमतिमा महराले अमेरिकी अधिकारीहरूसँग गरी वार्ता र सहमति।
२) देउवा प्रचण्डको आदेशमा ज्ञानेन्द्रबहादुर कार्की अमेरिका पुगेर हस्ताक्षर।
३) कम्प्याक्ट संसदमा लैजान दुईतिहाइकाे सरकारका बेला प्रचण्डको तत्कालीन सरकारसँग सहमति, माओवादी पृष्ठभूमिका मन्त्रीहरूसहित क्याबिनेटबाट निर्णय।
४) प्रचण्ड- महरा- सापकोटाद्वारा गिजाेल्ने र विराेधमा वातावरण भड्काउने सिलसिला निरन्तर ।
५) देउवा- प्रचण्डको संयुक्त हस्ताक्षरमा २०७८ कात्तिकमा एमसीसीलाई ४-५ महिनाभित्र संसदबाट अनुमाेदन गराउने कायलनामाकाे पत्राचार।
६) देउवा- प्रचण्ड- नेपालसहित पाँच दलीय गठबन्धनका नेताहरूकाे सहमतिमा संसदमा टेबुल गर्ने निर्णय।
७) अर्थमन्त्री सहमतिमा अनुपस्थित, संचारमन्त्रीद्वारा सहमतिमा कम्प्याक्ट संसदमा टेबुल ।
उनले परमादेश सरकारको लुटपाट जारी भएको समेत बताए । थापाले भने, ‘त्यतिन्जेलसम्म एमसीसी राष्ट्रवादी ? तर, सरकारमा सँगसँगै माेजमस्ती, संसदमा विराेधमा नाराबाजी, सडकमा प्रदर्शन र आक्रामक उत्तेजनात्मक र हिंसात्मक रवैया जारी, देउवा-प्रचण्ड- नेपालकै सरकारकाे गृहप्रशासनद्वारा प्रदर्शनकारीमाथि दमन । अब एमसीसी राष्ट्रघाती ? आफैले निर्णय गरी संसद बैठकमा टेवलसमेत गरेकाे एमसीसी राष्ट्रघाती ? मति राष्ट्रघाती भएको सटीक दृश्य- दृष्टान्त । खासमा देशमा जात्रा चलिरहेको छ ! सरकारमा भाँडहरूकाे लुटपाट छ, बाह्य- सम्बन्ध अविश्वास र संकटमा परेकाे छ ! परमादेशकाे बिजाेग र पतन अनिवार्य भएको छ।’

प्रतिक्रिया