युद्ध रोक्न आग्रह गर्दै रुसी दूतावासअगाडि प्रदर्शन

काठमाडौं । रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न विशेष आग्रहसहित मानवअधिकार तथा शान्ति समाजले आज (बुधबार) नेपालस्थित रुसी दूतावासअगाडि प्रदर्शन गरेको छ । दिउँसो १ बजेदेखि आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीहरुले रुस : युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवर्द्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शनपश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी दूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको मानव अधिकार तथा शान्ति समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जनाइन् ।
युद्धले लाखौं-करोडौं मानिसको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आबद्ध दशौं हजार सदस्य तथा शुभचिन्तक अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गरिएको छ ।
प्रदर्शनमा मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, पूर्वउपसभापति रेनुका पौडेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, सचिव वन्दना सिंह, अपिल समिति संयोजक बलबहादुर गाहा मगर र सदस्य ईश्वरा लिङ्देन, केन्द्रीय सदस्यहरु चन्द्रमणि बञ्जारा र किरण ढकाल, पूर्वकेन्द्रीय सदस्य दुर्गा राना (लक्ष्मी), काठमाडौं शाखा का.वा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति संजोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाडौं शाखा पूर्वसभापति ईश्वर पुडासैनी, काठमाडौं शाखा सहसचिव रमेश बराल, आजीवन सदस्यहरु तुलसीराम भण्डारी, दिवाकर पुडासैनी, आरसी भण्डारी, विकास थापालगायत चार दर्जन शान्तिवादी अभियन्ताको सहभागिता थियो ।

प्रतिक्रिया