बिमा संस्थान ५५औँ वर्षमा प्रवेश : सचिव मरासैनी भन्छन् – संस्थानलाई प्रतिस्पर्धी बनाउँछौँ’

काठमाडौं । राष्ट्रिय बिमा संस्थान ५५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बिमा सेवा लिएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बिमा शुल्क संकलन गर्नुका साथै १९ जीवन बिमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ । संस्थाको शाखा २२ पुगेको छ । यो वर्षभरिमा शाखा २८ पुर्याउने संस्थानको उद्देश्य छ ।
वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासैनीले संस्थानमा देखिएका विभिन्न समस्या समाधान गर्दै संस्थानलाई प्रतिस्पर्धी संस्थाको रुपमा विकास गर्नुपर्न बताए।
संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले लेखा परीक्षण, संस्थानको साधारणसभा र कर्मचारीको वृत्ति विकासमा देखिएका सबै समस्याको समाधान गर्दै कर्मचारीलाई प्रोत्साहन हुने नीति ल्याउने प्रतिवद्धता व्यक्त गरे। योसँगै बिमा व्यवसाय विस्तार, संस्थानको संरचना परिर्वतन, अभिकर्ताको वृत्तिविकास तथा प्रोत्साहन गर्ने नीति ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
एक करोड अधिकृत पुँजीमा स्थापना गरिएको कम्पनीले २०३४ साल फागनु ११ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको थियो । अहिले संस्थानले सावधिक जीवन बिमा योजा, बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बिमा, अग्रिम भुक्तानी जीवन बिमा, दोहोरो लाभ जीवन बिमा र राष्ट्रसेवक सावधिक जीवन बिमालागयतका योजना अघि सारेको छ ।
प्रतिक्रिया