बुधबार, जेठ १, २०८२

अभिनेता पल शाहविरूद्ध किटानी जाहेरी, कानुनत: सहमतिको शारीरिक सम्बन्ध बलात्कार मानिने

नेपालखोज २०७८ फागुन ११ गते १८:१७

काठमाडौँ। अभिनेता पल शाहविरूद्ध (समीक्षा अधिकारी) एक १७ वर्षीया गायिकाले जबर्जस्ती करणीमा किटानी जाहेरी दिएकी छन्। ती १७ वर्षीया गायिकाले तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी दिएकी हुन्।

तनहुँ प्रहरीले अभिनेता शाहविरुद्ध ती गायिकाले जबर्जस्ती करणीमा किटानी जाहेरी दिएको पुष्टि गरेको छ । ती १७ वर्षीया किशोरी गायिकालाई जबर्जस्ती प्रेमसम्बन्धमा पारेर करणी गरेको आरोप अभिनेता शाहमाथि लागेको छ। एक महिनाअघि ती गायिका शाहविरुद्ध उजुरी लिएर कास्की प्रहरी पुगे पनि कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै तनहुँ प्रहरीमा पठाएको थियो।

नेपालको कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि शारिरिक सम्बन्ध राखिए पनि त्यो बलात्कार मानिन्छ। सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती भएको पल शाह र ती गायिकाबीचको अडियोमा अभिनेता स्वयम्‌ले शारिरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् । हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका हुन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । तर, मंगलबारदेखि ती गायिका कानुनी प्रक्रियामा जान तयार भइन् । उनी मंगलबार नै काठमाडौँबाट तनहुँतर्फ लागेकी थिइन् । तर, मंगलबार साँझ तनहुँ जिप्रकाले बुबाको पनि हस्ताक्षर चाहिन्छ भनेपछि बुधबार मात्रै जाहेरी दर्ता भएको हो ।

म्युजिक भिडियोको क्षेत्रमा कलिला उमेरका किशोरीहरूमाथि यौन शोषण गर्ने एउटा गिरोह नै सक्रिय छ । त्यस्तो गिरोहलाई केही पत्रकारले समेत साथ दिइरहेको बताइएको छ । अब कति जना यो प्रकरणमा तानिन्छन् चासो र चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया