शुक्रबार, जेठ ४, २०८१

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा आर्मी र टाइम्स फाइनलमा प्रवेश

नेपालखोज २०७८ फागुन ११ गते २०:१८

काठमाडौं । नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई ८२–७३ ले पराजित गर्‍यो । आर्मीका रोविन खत्रीले १७ अंक जोडे ।

रोयलका निकेश मगरले २५ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन् । सुरुका तीन क्वाटरमा आर्मीले २१–१८, २४–१३ र १९–१६ को अग्रता लिदै जितको आधार खडा गरेको थियो । अन्तिम तथा चौथो क्वाटरमा भने आर्मी १८–२६ ले पछि पर्‍यो ।

महिलाको राउन्ड रोविन लिगमा भने रोयल विजेता बन्दै फाइनल पुगिसकेको छ । रोयलले नेपाल प्रहरीसंग उपाधि भिडन्त पक्का गरेको हो । अर्को सेमिफाइनलमा टाइम्सले गोल्डेनगेटलाई ८४–६७ ले हरायो । टाइम्सका विजय बुर्जाले २५ अंक बटुले । चौथो क्वाटर २०–२० को बराबरीमा टुंगियो भने बाँकीमा टाइम्सले अग्रता लियो । टाइम्सले पहिलोमा २३–१४, दोश्रोमा २३–१९ र तेश्रोमा १८–१४ को अग्रता बनायो ।

महिलातर्फ राउन्ड रोविन लिगको अन्तिम खेलमा रुपन्देहीले कीर्तिपुरलाई ४५–४१ ले पन्छायो । रुपन्देहीकी दीपिका गुरुङले २२ स्कोर गरिन् । कीर्तिपुरका लागि प्रजिता कार्कीले १५ अंक जोडिन् । पाँच टिम सहभागी महिलामा रुपन्देही चौथो भयो । पराजित कीर्तिपुर पुछारमा रह्यो । ललितपुर हाइले तेश्रो स्थानमा स्पर्धा टुंगायो । नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।

प्रतिक्रिया