सभामुख बन्दै महन्थ, माधवसहित १४ सांसदलाई कारबाही निश्चित

काठमाडौं । अमेरिकी सहयोग परियोजनाले वर्तमान सत्तागठबन्धन फुटेर नयाँ गठबन्धन बन्ने पक्कापक्की भएको छ । नयाँ गठबन्धन बन्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाका लागि खतराको घण्टी बजेको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति बनेको अवस्थामा सभामुखको जिम्मेवारी लोसपा नेता महन्थ ठाकुरले पाउने भएका छन् । लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने निर्णय गरिसकेको छ । सभामुखको पार्टी प्रधानमन्त्रीको लाइनमा नउभिए उनीहरुले सरकारबाट समेत हात धुनु पर्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकार्य गर्न सभामुख पदबाट अग्नि सापकोटालाई हटाउनुपर्ने, माओवादी र माधव समूहलाई सत्ताच्यूत गर्नुपर्ने र माधव समूहका चौध सांसदलाई एमालेको मागबमोजिम पदच्यूत गर्नुपर्ने जस्ता सर्तहरू राखेका छन् । प्रचण्ड-माधवको साथ नपाए देउवा एमालेको माग पुरा गर्न तयार हुनेछन् ।
प्रचण्ड र माधव समूहसँगको सहकार्य तोड्नुअघि देउवा उल्लिखित तीन कार्य गर्न तयार हुनुपर्ने हुन्छ । कांग्रेस, एमाले र मधेशकेन्द्रीत दलहरू एकतावद्ध भएमा कम्तिमा एक सय असीभन्दा बढी सांसदहरू एकातिर हुनेछन् । जबकि महाभियोग लगाएर सभामुख सापकोटालाई हटाउन १७४ सांसदको समर्थन भए पुग्छ ।
एमाले र कांग्रेसबीच सहमति बन्यो र सभामुख सापकोटाविरुद्ध महाभियोग लागेर उनी पदच्युत भए भने सापकोटाको ठाउँमा महन्थ ठाकुरको चयन हुने निश्चित मानिएको छ । सभामुखको जिम्मेवारी प्राप्त भएमा महन्थले सबैभन्दा पहिले माधव समूहका चौध सांसदहरू पदमूक्त भएको घोषणा गर्नुपर्ने छ । यता प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । सभामुखले पनि आफ्नो पद जोगाउन एमसीसी टेबुल गरेको प्रचण्डले खुलस्त पारिसकेका छन् । प्रचण्ड र माधवलाई सरकारमा बसेर सरकारलाई ढुङ्गामुड्डा नगर्न कांग्रेसका नेतहरुले चेतावनी दिइसकेका छन् ।
कार्यसूचीको दोस्रो बुँदामा आज अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । तर अर्थमन्त्री शर्मा भने उपत्यका बाहिर रहेको र आजको बैठकमा नआउने खबर प्राप्त भएको छ ।
नयाँ गठबन्धन बने एमसीसी भोलि अथवा अर्को बैठकमा एमसीसी पास हुनेछ । तर अन्तिम समयमा जस्तोसुकै निर्णय लिन पछि नहट्ने देउवाको अडानले गठबन्धन धरापमा परेको छ । गठबन्धनको दिनगन्ती पनि सुरु भएको हो ।

प्रतिक्रिया