खनालको चेतावनी – एमसीसीविरुद्ध अब सडक तात्ने मात्र होइन बल्ने गरी आन्दोलन हुन्छ

नेपालखोज २०७८ फागुन १२ गते १७:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन् । बिहीवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सांसद् खनालले एकथरी महाशक्ति राष्ट्रको पछि लागि रहेको र अर्कोथरी देशको स्वाधिनता र स्वाभिमान बचाउन लागेकोले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गरे । उनले एमसीसीको विरुद्धमा अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभइ बल्ने गरी आन्दोलन हुने चेतावनी दिए ।

त्यस्तै गृहमन्त्री तथा नेपाली कांग्रेसका सांसद् बालकृष्ण खाँणले एमसीसी पास हुने आशंका व्यक्त गरे । उनले नेपालमा कतिपय घटनाक्रमहरु पहिला हुँदैन भनिए पनि पछि भएको प्रमाण रहँदै आएको भन्दै एमसीसी सकारात्मक ढंगले अघि बढ्ने बताए । उनले सरकार सदन सुचारु रुपमा चलाउन लागि परेको पनि बताए ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीम रावलले शक्ति राष्ट्रहरुको चपेटामा देश परेको बताएका छन् । उनले एमसीसीमा राष्ट्रहित विपरित धेरै प्रावधानहरु रहेको भन्दै त्यो नसच्याइ नेकपा एमाले जस्तो जबजको सिद्धान्त र महाधिवेशनबाट पारित कार्यक्रमहरु बोकेको पार्टीले एमसीसीमा समर्थनमा जानु नहुने बताए । सांसद् रावलले नेकपा एमालेको नीतिमा भएका कुराहरुले पनि एमसीसीको समर्थन गर्न नदिने जिकिर गरे।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् तथा अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताएका छन् । उनले ठूला राजनीतिक दलको केटाकेटी पन र आलोकाँचो व्यवहारका कारण देश आज शक्तिराष्ट्रहरुको रणनीतिक स्थलको रुपमा परिणत भइरहेको र परराष्ट्रनीतिमा सन्तुलन बिग्रिरहेको बताए । सांसद् लिङदेनले देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको पक्षमा राप्रपा नरहने पनि स्पष्ट पारे ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद् योगश भट्टराईले गठबन्धन भत्काउन नेकपा एमालेले धुप हाल्ने र गणेशलाई पूजा गर्ने काम नगरेको भन्दै गठबन्धन सत्तारुढ दलहरुकै कारणले भत्किने बताएका छन् । उनले गठबन्धन भत्किएपछि मात्रै देशले निकास पाउने र गठबन्धन रहुन्जेल देश अनिर्णयको बन्दी हुने भन्दै गठबन्धन छिटो भत्किँदा राम्रो हुने बताए । सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई ब्ल्याङ्क चेकको माग गरिरहेको बताए ।

उनले एमाले आफ्नो माग पूरा नभएसम्म कुनै पनि कुरामा सहभागी नबन्ने भन्दै स्पष्टरुपमा एमालेसँग ब्ल्याङ्क चेकमा नभइ ब्ल्याक एण्ड ह्वाइटको कुरा हुनुपर्ने बताए । सांसद भट्टराईले अहिले पार्टी र भातृ संगठनका कुराहरु ल्याएर राष्ट्रिय मुद्दा बनाइ नेपाललाई राजनीतिको चलखेल गर्ने अखडा बनाइएको आरोप लगाए । उनले गठबन्धन सरकारले देशको बेइज्जत गरेको र मुलुकको अन्तर्राष्ट्रिय शक्ति अत्यन्तै कमजोर बनाएको पनि बताए । सांसद् भट्टराईले देशलाई कमजोर बनाएको जिम्मा प्रधानमन्त्री देउवाले लिनुपर्ने पनि बताए ।

प्रतिक्रिया