एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउँछ : सुरेन्द्र पाण्डे

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताए ।
एमसीसी सम्झौंतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए । अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताए । नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमती राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गरे ।
उनले भने, ‘अहिले प्रसंगवश आइरहेको एमसीसीसँग कतै अन्तर्राष्ट्रिय सम्बन्धसँग रिलेटिभ भएर नयाँ क्राइसिस तर्फ देश जाने होइन ? यस तर्फको अध्ययन अलिकति तपाईहरुले यसका प्रभावको बारेमा अध्ययन गर्नु पर्ने खाँचो देखिरहेको छु । यो भनेको के भने जस्तो अहिले मैले हेर्दा विश्व बैंक, दक्षिण एसियाली बैंकले निश्चित सहयोग दिने गर्दछ । त्यो अहिले विगतमा भन्दा बढाइरहेको छ । आइएमएफले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ । भर्खरै हामीले ४८ अर्ब हामीले प्राप्त गरेका छौँ । यसले हामीलाई फरेन्ट करेन्सीमा आइपर्ने जो चाप छ, त्यसलाई केही न केही व्यालेन्स गर्ने मद्दत गरिरहेको छ । तर, यदि यो सम्बन्ध ५५ अर्ब नलिने कुरासँग केही छैन । नलिए पनि केही भएको छैन । तिमिले लिएनौं मैले दिन्न मैले अन्त पनि बाडिदिन्छु भनेर सहज रुपमा उसले लिएर गयो भने नो प्रश्न । त्यसले ठूलो नोक्सानी कही हुँदैन ।’
उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भिर हुनुपर्ने बताए । उनले भने, ‘फरेन्ट करेन्सीको चाप छ । वा एफडिआई आउने जो कुरा गछौं । टुरिजम कै कुरा गछौं यी सबैमा आउन सक्ने संकट के हुन्छ ? त्यस कारणले अर्थतन्त्रका नयाँ चुनौती भन्न खोज्नु भएको छ । पुराना चुनौती छदैछन् । हामीले बीचमा लोडसेडिङका चुनौती थिए, पार गरेका छौँ । नाकाबन्दी, कोभिड महामारी सामना गर्दै गएका छौँ । यस्ता विभिन्न समस्या आउँदै गए बीचमा समाधान गर्दै गयौँ । तर यो नयाँ चिज त्यस रुपमा आयो भने बस र बुता भन्दा बाहिर हुने छ । किन हामीलाई प्राप्त हुने पैसा केही दिन अगाडि भारतले हामीलाई १२ अर्बको सहायता घोषणा गरेको छ । अघिल्लो वर्ष १५ अर्ब ७० करोड रुपैयाँ थियो । आउने बेलामा ६/७ अर्ब खर्च गर्ने क्षमता भएन । पैसा आएन । त्यस्तै १०/१२ अर्ब चीनले देला । यस आधारमा हाम्रो अर्थतन्त्र सस्टेन गर्छ की गर्दैन । यसबाट उत्पन्न हुने प्रत्यक्ष अप्रत्यक्ष सम्बन्धहरु के हुन ? यो कुराको अध्ययन गरेर हामीले हाम्रा उपायहरु खोज्नुपर्छ । त्यसतर्फ हामी गम्भिर हुनुपर्छ । समय छ । समयमा नै हामीले परसम्म नेतृत्व क्षमता देखाउन सक्यौँ भने देशलाई लिएर जान सक्छौँ अन्यथा देश संकटतर्फ जानसक्छ भन्ने देखिन्छ ।’

प्रतिक्रिया