‘सरकारले विदेशी विनिमय ऐनमा हुन्डीलाई समेट्नुपर्छ’

काठमाडौं । नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले विश्वको प्रविधि क्षेत्रमा आएको परिर्वतनले राजस्वमा पर्ने प्रभावको विषयमा समयमा नै चनाखो नभए नेपालपछि पर्ने बताएका छन् ।
आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले राजस्व नीति सम्बन्धमा आर्थिक पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले विश्वमा राजस्व संकलनको लागि बढ्दै गएका नयाँ प्रविधिको प्रभावको विषयमा सोच्नु पर्ने बताए । अध्यक्ष दाहालले पछिल्लो समय विश्व अर्थतन्त्रमा क्रिप्टोकरेन्सीलगायत अन्य डिजिटल भुक्तानीका विषयमा समयमा नै सरकारको ध्यान जानु पर्ने उल्लेख गरे ।
उनले अनलाइन व्यापारलाई करको दायरामा ल्याउनको लागि उद्योग मन्त्रालयले डिजिटल कारोबार ऐन ड्राफ गरेर समितिमा पठाएको तर अहिलेसम्म संसदमा पेस हुन नसकेको गुनासो गरे । समितिले गत वर्ष नै नेपालको घरजग्गा कारोबारमा हुने घोटला रोक्नको लागि कानुन ल्याउन सरकारलाई सुझाव दिएको अध्यक्ष दाहालले बताए । उनले अहिले नेपालको सबै भन्दा ठूलो उद्योग नै घरजग्गा भएको दाबी गरे ।
घरजग्गा कारोबार व्यवस्थित बनाउनको लागि सरकारले कानुन बनाएर एजेन्सीमार्फत कारोबार गर्नु पर्ने व्यवस्था गर्दा मात्रै करको ल्याउन सकिने उनले तर्क गरे । विश्वमा घरजग्गाको कारोबार एजेन्सीमार्फत हुने गरेको दाहालले जानकारी दिए ।
त्यस्तै, आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेले आन्तरिक राजस्व विभागले कोरोनाको समयमा सरकारले कर सम्बन्धी ल्याएका स्किमको विषयमा प्रचार कमी भएको स्वीकार गरेका छन् । उनले कोरोनाको समयमा साना करदाताको लागि ल्याएका करका स्किमको बारेमा सबै करदाता सामु पुर्याउन विभागले नसकेको बताए । अझै फागुन र चैतसम्म केही स्किमको समय बाँकी रहेकाले विभागले आफू मातहतका सबै कार्यालयमा स्किमको कार्यान्वयनको लागि परिपत्र गर्ने उनले जानकारी दिए । उनले नेपालमा अझै पनि कर शिक्षाको कमि रहेको औल्याए ।
त्यस्तै राजस्व अनुसन्धान विभागका निर्देशक मुक्ति अर्यालले राजस्व अनुसन्धान गर्ने नीतिगत तथा व्यवस्थापनमा समस्या रहेको बताए । उनले पुराना अनुसन्धान नीतिहरु संशोधन गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरे । अर्यालले राजस्व अनुसन्धानमा आउने ५० लाखमाथिको मुद्धा अदालत लगेर राजस्व कार्यालय र भन्सार विभागलाई राजस्वको उठाउनको लागि पठाउने नीति अव्यवहारिक भएको बताए । राजस्व अनुसन्धान गर्दा मुख्य हुन्डीको कारोबार रहेकाले सरकारले विदेशी विनिमय ऐनमा हुन्डीलाई समेट्नु पर्ने उनले बताए ।
त्यस्तै, वरिष्ठ चार्डड एकाउण्टेण्ड शेषमणी दाहालले नेपाल राजस्व संकलनको हिसाव दक्षिण एसिया पहिलो रहेको बताएका छन् । उनले नेपालमा राजस्व संकलनको अवस्था केही चुहावट भएपनि दक्षिण एसियाको जिडिपीअनुसार राम्रो रहेको बताए । दाहालले सरकारले राजस्वको चुहावटहरु रोक्दै राजस्व संकलन करदाता मैत्री बनाउनु पर्ने बताए । दाहालले नेपालको राजस्व संकलन नीतिहरु स्थिर नभएको बताए ।

प्रतिक्रिया