एमसीसीबारे एमाले, कांग्रेस, माओवादी र लोसपाका नेताले के भने ?

नेपालखोज २०७८ फागुन १४ गते १७:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले गठबन्धन कायम रहनेगरि र एमसीसी परिमार्जनसहित पारित गर्नेगरि सहमति हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा आज नेता बिडारीले एमसीसी परिमार्जनसहित मात्रै संसद्बाट अनुमोदन हुने दाबी गरे ।

उनले आफ्नो पार्टीले यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने पनि स्पष्ट पारे । उनले भने, ‘एमसीसी संशोधनसहित पारित गर्नुपर्छ । यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौं । ८ देखि १० पत्र टेबुल हुनुपरयो । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन । यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ । यो व्याख्या नेपाली संसदले गर्नुपर्छ । हामी सबै कार्य गर्नको निम्ति, अध्ययन गरेरमात्रै टुँगो लगाउँछौं ।’

उनले सहयोग दबाबमा नलिने स्पष्ट पारे । उनले भने, ‘माओवादीले एमसीसीको पक्षमा मतदान गर्दैन् । अहिले मतदान गर्दैन् । अहिलेको अवस्थामा हाम्रो पार्टीले यसको पक्षमा मत हाल्दैन् । अमेरिकी अनुदान लिने हो, तर नेपाललाई हित हुनेगरि लिने । सम्झौतामा लेखिएका भाषा र शब्द मिलाउने कुरा छ, यसमै सहमति हुन्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने दाबी गरे । उनले भने, ‘उहाँको प्रष्ट धारणा छ यो गठबन्धन टुट्दैन । एमसीसी पास हुन्छ । हामीले पनि गठबन्धन टु्ट्दैन भनेका छौं ।’

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको पक्षमा नउभिए सरकार तत्काल छाड्नुपर्ने बताए । उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसीसीको कारण राजनीति अर्कैतर्फ मोडिएको बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनको मिति घोषणा भैसकेको छ। अहिले सबै दल त्यतातिर केन्द्रित हुनुपर्ने हो । तर, अहिले हामी दुई विषयमा केन्द्रित भएका छौं । एउटा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगार्ईएको छ, अर्को एमसीसी संसद्मा टेबुल भएको छ ।’

कांग्रेस सुरुदेखि नै आफ्नो विचार र अडानमा अडिग रहँदै आएको पनि उनले उल्लेख गरे । उनले सरकारमा सहभागी दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका प्रस्तावको पक्षमा नउभिएकोमा गुनासो पोखे । उनले भने, ‘अब प्रधानमन्त्री मुख बाँधेर बस्नुहुँदैन् । सरकारमा बस्ने अनि प्रधानमन्त्रीले अघि सारेको प्रस्तावको विरोध गर्ने काम भैरहेको छ, अब उहाँले यस्ताखाले साथीहरुलई सत्तामा राख्नुहुन्न । प्रचण्ड र माधव नेपालका पार्टीका साथीहरुले अब कि सरकार छोड्नुहोस कि एमसीसी रोज्नुहोस । राजनीतिक स्वार्थ, भोट र सत्ताको दाउपेजको रुपमा प्रयोग गर्ने बानी अब नेताजीहरुले अन्त्य गरौं ।’

उनले आफ्नो पार्टीले सत्ता वा प्रतिपक्षमा हुँदा पनि एउटै कुरा गरेको र कहिले पनि बोली नफेरेको जिकिर गरे । उनले भने, ‘एमसीसीमा नेपालको अहितमा भएका कुरा संशोधन गर्न तयार छौं भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ । यो रकम नेपालको विकासको लागि प्रयोग गरौं । संसद्मा अनुमोदन गर्नुपर्छ भनेर अहिले प्रस्ताव टेबुल भएको छ । २०७६ साल असार ३० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अर्थमन्त्री युवराज खतिवडाले संसद् सचिवालयमा एमसीसीको प्रस्ताव पेश गर्नुभयो । सबै सरकारमा भएका बेला यो प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको हो । दातृ निकायसँग भेट्दा, अमेरिकन भेट्यो भने पास गर्छु भन्ने अनि बाहिर अर्को मान्छे भेट्दा पास गर्नुहुँदैन भनेर बोल्ने कुरा गलत हो । कि सम्झौता नै गर्नुहुँदैन थियो । कुन प्रधानमन्त्रीको पालामा यो अघि बढेको हो भन्ने कुरा सबै प्रष्ट छ नि, यो त घामजत्तिकै छर्लंग छ । मुलुकलाई रणभूमि पार्नेगरि जानुहुँदैन् ।’

नेकपा एमालेका नेता शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरलतामा नै रहेको टिप्पणी गरे । अब राजनीति सग्लो हुनेको लागि अझै एक÷दुई दिन लाग्न सक्ने बताए । उनले पनि मुलुक अहिले निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला भएको बताए । तर, अहिले मुलुकको ध्यान अन्तै मोडिएको उनको भनाई छ ।

संसद्मा एमालेको गतिरोध कायमै रहेको उनले बताए । उनले भने, ‘अहिले मुलुकको राजनीति एमसीसीमा केन्द्रित भएको छ । एमालेले हिजो नेकपाकालिन अवस्थामा एमसीसी अनुमोदनको लागि संसद्मा ल्याएकै हो । कांग्रेस र माओवादीको सरकार हुँदा एमसीसी सम्झौता भएकै हो । आज एमसीसीबारे आम नागरिकको स्तरबाट प्रश्न उठेको छ । एमसीसी संसद्बाट अनुमोदन भएकै राम्रो हो । सरकार अस्थिर बनेकोले यो विषय संसद्बाट पारित गर्ने कुरा भएको हुनसक्छ, पार्टीगत रुपमा बहस गर्दा आम नागरिकको बीचमा यो एमसीसी गिजोलियो ।’

उनले एमसीसीबारे मिडिया, सामाजिक सञ्जाल र डबलीमा विरोध भएपनि यसको सही रुपमा छलफल त पार्लियामेन्टमा हुनुपर्ने बताए । उनले भने, ‘यो प्र्रस्ताव प्रस्तावकले संसद्मा उठेका विषय प्रष्ट पार्नुपर्छ । ती दृष्टिकोण प्रष्ट भएपछि, संशोधन गर्दा पनि यो सहित पास हुन्छ । सत्ता पक्षले हुन्छ भनेर नै हात उठाउनुपर्छ । सरकारको प्रस्ताव हुन्न भन्ने हो भने एक मिनेटपनि सरकारमा बस्न मिल्दैन् । तर, साथीहरुले द्धेद्ध चरित्र देखाएका छन् ।’

उनले भोलिको करिब करिब मध्यरातसम्म माओवादी र नेकपा एसहरु एमसीसी पास गर्ने पक्षमा उभिने ठोकुवा गरे । उनले भने, ‘उहाँहरु एमसीसी पारित गर्ने पक्षमा उभिनुहुन्छ । अहिले सरकारसँग एमसीसी पास गर्नको लागि बहुमत छ । एमाले उभिनुपर्ने या नपर्ने जरुरी छैन् । संसद् अवरोधको अवस्था नखुलाएसम्म हामी छलफलमा भाग लिँदैनौं । हामी पक्षमा भोट हाल्दैनौं ।’

लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले आफूहरु सुरुदेखि नै एमसीसीको पक्षमा उभिएको बताएका छन् । उनले एमसीसी सम्झौताको हकमा आफ्नो पार्टीमात्रै केही कुरा पनि सहभागी नभएको जिकिर गरे । तर, देशको विकासकोलागि यो अनुदान लिनुपर्छ भनेर आफूहरुले भनेको स्पष्ट पारे । उनले भने, ‘लोसपा एमसीसीमा आवद्ध छैन् । तत्कालिन नेकपाको सरकार हुँदा अर्थमन्त्री युवराज खतिवडाले एमसीसीलाई अघि बढाउँदा प्रचण्ड र माधव नेपालहरु पनि सँगै थिए, अहिलेको जसपाका अध्यक्ष उपेन्द्र यादव पनि त्यही क्याविनेटमा उपप्रधानमन्त्री हैसियतमा बसेका थिए ।’

अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार रहेको उल्लेख गर्दै उनले सरकारमा उपेन्द्र यादव, प्रचण्ड र माधव नेपालका साथीहरु पनि सामेल रहेको बताए । तर, एमसीसीको हकमा भने प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले दोहोरो चरित्र देखाएको उनको गुनासो छ । उनले भने, ‘उहाँहरु अहिले डबल स्टाण्र्ड देखाउनुभएको छ । क्याविनेट, सडक र सदनमा बेग्लाबेग्लै कुरा गर्नुभएको छ । हिजो ओलीले अघि बढाउँदा पनि हामी सरकारमा थिएनौं । अहिले पनि सरकारमा छैनौं । तर, दातृ निकायबाट ऋण र अनुदान पाउँछौं भने त्यसलाई हाम्रो देशको हितमा उपयोग हुनुपर्छ ।’

उनले एमसीसी पास भयो भने देश विभाजन हुन्छ भनेर माओवादी केन्द्रका नेता रामनारायण बिडारीले भनेको उल्लेख गर्दै कसरी देश विभाजन हुन्छ ? भनेर उल्टै प्रश्न गरे । उनले भने, ‘यो एमसीसी नेपालले मागेको हो, अनि हामीले छानेको परियोजना अघि बढाउँदा कसरी विभाजन हुन्छ ? यो कुन किताबको कुन पानामा लेखिएको छ ? अहिले पनि उहाँहरुसँग दुई मोह छ । सत्ता मोह छ। उहाँहरुले राज्यको ढुकुटी आफ्नो हितमा प्रयोग गर्नुभएको छ । जनतालाई गुमराहमा पार्ने काम पनि उहाँहरुले गर्नुभयो । कुन कुन बुँदामा परिमार्जन गर्ने हो ? यसरी सोध्दा उहाँहरुले पढेकै छैन भन्नुहुन्छ । जनतालाई प्रष्ट रुपमा बताउनुपर्छ । लोसपाको प्रष्ट धारणा के हो भने देश विकासको निम्ति दातृ देशहरुबाट पाउने अनुदान रकम ल्याउन सकियो भने राम्रो हुन्छ । यसमा हामी सकारात्मक छौं ।’

उनले एमसीसीबारे पहिले सरकारमा बसेकाहरुले आफ्नो दृष्टिकोण एक रुपमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘यदि उहाँहरुले आफ्नो धारणा एक रुपमा ल्याउन सक्नुभएन भने लोसपा पनि सोच्न बाध्य हुन्छ । सरकारमा आवद्ध दलहरुले एमसीसीबारे आफ्नो धारणा प्रष्ट गर्नुपर्छ । कांग्रेस र सभापति एवं प्रधानमन्त्री देउवाजीको धारणा क्लियर छ । डबल स्टाण्र्डले मुलुकमा अन्यौलता छाएको छ। अहिले पूरा मुलुकको ध्यान एमसीसीले गर्दा संसदमा छ । मुलुकलाई बन्धक बनाउनुहुँदैन् । या त सरकारी प्रस्तावको पक्षमा भोट दिनुहोस, या त सरकारबाट बाई बाई गर्नुहोस । बाटो पनि नछोड्ने अनि कुरा पनि अघि बढाउन नदिने गर्नुहुँदैन् । यो अवस्थाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि विस्तारै विस्तारै धुमिल हुँदै गएको छ ।’

प्रतिक्रिया