आइतबार, वैशाख २८, २०८२

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमीलाई

नेपालखोज २०७८ फागुन १४ गते २२:०६

धनगढी । धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिता छैटौँ संस्करणको उपाधि आज सत्यवती एकेडेमी अत्तरियाले जितेको छ । विद्याभूषण पब्लिक स्कुल गेटालाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपटक जितेको हो ।

उपाधिसहित सत्यवती एकेडेमीले रु एक लाख ५० हजार र उपविजेता विद्याभूषणले रु ७५ हजार प्राप्त ग¥यो । धनगढीको प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको लक्ष्य पछ्याउने क्रममा विद्याभूषणले १२१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा विद्याभूषणका नुरेन विष्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सत्यवती एकेडेमीको बलिङमा युवराज खत्री र नीरज भट्टले समान तीन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा चार विकेट क्षतिमा २५० रन बनाएको थियो ।

सत्यवतीको ब्याटिङमा अन्डर–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए । उनले ४५ बलमा तीन चौका र ११ छक्का प्रहार गरे । यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र तीन छक्का प्रहार गरे । आदिल अन्सारीले १२ बलमा दुई चौका र तीन छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले पाँच बलमा तीन छक्का मद्दतले १९ रन योगदान दिए । सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिङ साझेदारी गरे, जुन प्रतियोगिताकै उच्च साझेदारी हो । चौथो विकेटका लागि आदिल अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे ।

विद्याभूषणका बलर प्रदीप चन्दले तीन विकेट तथा वीरेन्द्र नाथले एक विकेट लिए । महङ्गो सावित भएका टिम कप्तान शेरले चार ओभर बलिङ गर्दा ७९ रन खर्चेर विकेटविहीन रहे । प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका सत्यवती एकेडेमीका सन्तोष कार्कीले रु २० हजार प्राप्त गरे ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान विद्याभूषणका वीरेन्द्र नाथ तथा उत्कृष्ट बलर हिमालयन ह्वाइटहाउसका दीपक बोहरा घोषित भए । जसले जनही रु १० हजार प्राप्त गरे । यस्तै उदयमान खेलाडी चुनिएका सत्यवती एकेडेमीका युवराज खत्रीले रु १० हजार प्राप्त गरे । फागुन २ गतेदेखि सुरु भएको उक्त क्रिकेट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया