नेपाललाई आर्थिक वृद्धि र गरिबीलाई कम गर्न एमसीसी : महन्थ ठाकुर

नेपालखोज २०७८ फागुन १५ गते १७:०६
file photo

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताए ।

उनले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको बताए । उनले भने, ‘सरकारले संसदमा प्रस्तुत गरेको अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा छु । अमेरिकाले नेपाललाई सात दशकदेखि विकास सझेदारको रुपमा नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको छ । राष्ट्रिय हित र राष्ट्रिय संरक्षणको हरेक क्षेत्रमा सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि गरी प्रत्येक क्षेत्रमा अमेरिकाको केही न कही सहयोग देखिन्छ । अहिले वर्तमान सहयोग आएको छ । जुन अनुदानको रुपमा छ ।

अध्यक्ष ठाकुरले अनुदानले नेपालको गरिबी कम गर्ने र आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरे । उनले भने, ‘विशेष गरेर गरिबी निवारणको विषय तोकिएको छ । अनुदानको उद्देश्य नेपाललाई आर्थिक वृद्धि र गरिबीलाई कम गर्ने र सर्वसाधरण जनताको जीवन स्तर सुधार गर्ने राम्रो लक्ष्य लिएर अनुदानको रुपमा आएको छ । खर्च हुने कुरामा प्रश्न गरिएको छ । त्यो पनि निर्धारण गरिएको छ । त्यो नेपाल सरकारद्वारा नै निर्धारण गरिएको हो । यसबाट आउने सहयोग विद्युत र सडक निर्माण तथा सडक मर्मत सम्भारमा खर्च हुने छ । आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने हो । यो सहयोग त्यसै आएको होइन । नेपालले अनुदान पाउन मापदण्ड पुरा गरेकाले पाएको हो ।’

अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पुरा गरेकाले मात्रै अनुदान पाएको बताए । उनले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने उल्लेख गरे ।

प्रतिक्रिया