नेपालमा १ करोड ७२ लाख बढीले लगाए पूर्ण मात्राको खोप

काठमाडौं । नेपालमा कुल तीन करोड ६९ लाख ४३ हजार २४२ मात्रा खोप लगाइ सकिएको छ । जसमा १ करोड ८४ लाख ६९ हजार ४४५ जनाले पहिलो मात्रा र १ करोड ७२ लाख ८२ हजार १३८ जनाले पूर्ण मात्रा र १० लाख ९१ हजार ६५९ बुस्टर मात्राको खोप लगाइएको छ ।
हिजोसम्म कूल लक्षित वर्गको १८ वर्षभन्दा माथिका ९३ प्रतिशतलाई कम्तिमा पहिलो मात्रा र ७९ प्रतिशतलाई दोस्रो वा पूर्ण मात्रा कोभिडविरुद्धको खोप दिइएको छ ।
त्यस्तै, लक्षित जनसंख्याको १२ वर्षभन्दा माथिका ९२ प्रतिशतलाई पहिलो मात्रा र ७४ प्रतिशतलाई पूर्ण मात्राको खोप प्रदान गरिएको छ । कुल जनसंख्यामा ७१ प्रतिशतलाई कम्तिमा पहिलो मात्रा र ५७ प्रतिशतलाई पूर्ण मात्राको खोप प्रदान गरिएको छ । सरकारले यही चैत्र मसान्तसम्म १८ वर्षमाथिका शतप्रतिशत जनसंख्यालाई खोपको पूर्ण मात्रा दिने लक्ष्य राखेको छ ।
कोभिड संक्रमण भएका व्यक्तिले संक्रमण मुक्त भएको एक महिना पछि मात्रै कोभिड विरुद्धको खोपको पहिलो, दोस्रो वा बुस्टर मात्रा लिनुपर्दछ । सरकारले खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र नभएकाहरुलाई पनि खोप दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया