राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीलाई अनुसन्धनात्मक शोधग्रन्थ लेखनका लागि सहयोग गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरूमा हुने जोखिम तथा सम्भावनाहरूको बारेमा यथार्थपरक ढंगबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए ।
उनले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा यर्थाथपरक रुपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेन्दार विद्यार्थीहरूलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सुविधा प्रदान गर्ने बताए । त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.शिवराज अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए । उनले त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागले माग गरी प्राप्त प्रस्ताबमध्ये उत्कृष्ठ पाँच प्रस्तावलाई छनोट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरूलाई सहयोग रकम उपलब्ध गराइने बताए ।
बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीहरूलाई ४० हजार रुपैंया देखि बढिमा एकलाख रुपैंयासम्म रकम उपलब्ध गराउने बताए । उक्त समारोहमा त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागका प्रा.ताराप्रसाद भुषाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेल लगायत कर्मचारीको उपस्थिती थियो ।
बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया