पर्वतारोहीलाई राहत सामग्री उपलब्ध

नेपालखोज २०७८ फागुन १६ गते १४:३७

काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ । आज नेपाल पर्वतारोहण संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १ सय २५ जना पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको हो ।

कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतारोहीहरुलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले आजबाट कोरोनाका कारण समस्या परेका आरोहीहरुलाई राहत सामग्री उपलब्ध गराउन सुरु गरेको बताए । उनले यो मारमा परेका पर्वतारोहीहरुको लागि मित्रतास्वरुप उपहार भएको पनि बताए । अध्यक्ष लामाले ढिलो गरेर सुरु भएपनि पर्यटन मजदुरको लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताए ।

त्यस्तै एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रिय महासचिव टीकाराम नेपालीले पर्वतारोहीहरुलाई गरिएको राहतले खुशी थपेको बताए । उनले पहिल्यैबाट हुनुपर्ने काम ढिलो गरेर सुरु गरेको भएपनि यसले समस्यामा परेका पर्वतारहीहरुलाई केही राहत दिने बताए ।

महासचिव नेपालीले राहत सामग्री दिनुभन्दा रकम दिएको भए झनै समस्यामा परेका पर्वतारोहीहरुले आवश्यक ठाउँमा त्यसको सदुपयोग गर्नसक्ने बताए ।

प्रतिक्रिया