एमसीसीको विरोधमा चैत्र दोस्रो सातादेखि काठमाडौं केन्द्रीत आन्दोलन

नेपालखोज २०७८ फागुन १६ गते २१:३१

काठमाडौं । चैत्रको दोस्रो हप्तादेखि व्यवस्था परिवर्तनको निम्ति संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अमेरिकी सहयोग परियोजना एमसिसिविरुद्ध र देशको व्यवस्था परिवर्तनका निम्ति आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएको छ ।

केन्द्रीय अध्यक्ष तारानाथ लुइँटेलले सरकारले एमसीसी हतारमा पारित गरेको भन्दै आपत्ति जनाए । उनले भने,‘एमसीसीको विरोधमा हामीले सडक आन्दोलन गर्यौं, पानीको फोहोरा खायौं, धेरै साथीहरु घाइते हुनुभयो ।’ उनले आफूहरुले सातै प्रदेशमा आमसभा गर्ने बताए । लुइँटेलले आगामी चैत्र दोस्रो हप्ताबाट १० दिनसम्म एमसीसी फिर्ता र व्यवस्था परिवर्तनको निम्ति काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जानकारी दिए । उनले सातै प्रदेशमा जनसभाको आयोजना गर्न लागेको बताए । जसले एमसीसी अनुमोदन गरे उनीहरुनै महाकाली सन्धी गर्नेहरु भएको बताए ।

एमसीसीमा अमेरिकाको नियम नेपालको कानुनभन्दा माथि हुने भए यो संविधान फालेर नयाँ संविधान ल्याउनपर्ने उनको भनाई थियो । अब नेपालीले आफ्नो पहिचान खोज्न पर्ने अवस्था आएको सुनाए । अफगानस्तानको अवस्था नेपालमा आउने उनले बताए ।

कार्यक्रममा बोल्दै सह–अध्यक्ष विष्णु भट्टराईले ११६ वटा देशले शान्ति क्षेत्रको रुपमा अनुमोदित गरेको नेपाललाई आज मिलेनियम च्यालेन्ज कम्प्याक्टको आधारमा संसारको विश्व शक्तिको छाता मुनी पसेको बताए । यो सम्झौतामा अमेरिकी सैन्य गठबन्धनअन्तर्गतको हो की होइन भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालको केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको भट्टराईले जिकिर गरे । उनले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको उनले स्पष्ट पारे ।

त्यस्तै, मोर्चाका राष्ट्रिय संयोजक शेखरजंग रायमाझीले संसदबाट एमसीसी पास गर्नुलाई गणतन्त्रको उपज भएको सुनाए । दिल्लीमा १२ बुंदे सहमति हुँदा उक्त सहमतिमा यो देशका नेताहरुले भविष्यको निर्णय गर्न नसक्ने अवस्थाको सिर्जना गरेर आएको उनले आरोप लगाए ।

उनले एमसीसीले मुलुक विभाजित भएको भन्दै नेताहरु विदेशीको प्रभावमा चल्ने प्रमाणित भएको सुनाए । मोर्चाका अर्का राष्ट्रिय संयोजक शोभराम थापाले एमसीसी कुनै कम्पनीको नाटक गरेर नेपालको सम्पदा र टुरिजमलाई कब्जा गर्न लागेको सुनाए ।

त्यस्तै, मोर्चाका वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले एमसीसी कस्तो हो, आफु सन्धी हो की होइन भन्नेमा रणभूल्ल परिरहेको सुनाए । एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास गरेकोमा उनले आपक्ति जनाए । नेपालको अखण्डतामा असर पुर्याउने कुनै पनि सन्धि सरकारले गर्न नहुने उनले तर्क राखे । सन्धीमा लेखिएका, राखिएका प्रावधान नेपालको कानुन भन्दा एमसीसीको कम्प्याक्टमाथि रहने विषयमा आफुहरुले ३ वर्षदेखि खण्डन गर्दै आएको सुनाए । सविधानभन्दा माथि हुने कुनै सम्झौतालाई स्वीकार गर्न नसक्ने उनले स्पष्ट पारे ।

त्यस्तै, मोर्चाका तराई प्रदेश प्रमुख चन्द्रेश्वर यादवले एमसीसीले गर्दा देशका पुरै ३ करोड जनता फसिसकेको बताए । उनले भने,‘हामीलाई अर्को देशसँग विक्रि गरिसकेको छ । अब हामी बन्धक भइसकेका छौ ।’ उनले एमसीसी पास गर्ने जति सबै शासकहरुलाई देशद्रोहीको संज्ञा दिए । यो देश सबैको हो भन्दै नेताहरुलाई ३ करोड नेपाली बेच्ने अधिकार नभएको उनले जिकिर गरे ।

यसैगरी, मोर्चाका सचिवालय प्रमुख केशव ढुंगानाले अबको ३० दिनको समयमा सरकारले छल गरेर महाकाली सन्धीजस्तो सुक्ष्म रुपमा विष भर्ने बताए । संसदबाट एमसीसी अनुमोदन भएको हिजोको दिनलाई कालो दिनको रुपमा मनाउने उनले बताए । उनले सबैलाई आफ्नो मोर्चामा गोलवद्ध हुन आह्वान पनि गरे। उनले पुर्वराजा ज्ञोनन्द्र शाहलाई जनताको साथ लिएर मोर्चामा आवद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

मोर्चाका उपाध्यक्ष युवराज आचार्यले देश अहिले अत्यन्त गम्भिर अवस्थामा गुज्रिएको सुनाए । उनले संसदबाट पारित भएको एमसीसी जसरी पनि फिर्ता गरेरै छाड्ने जिकिर गरे । अब देशमा धार्मिक युद्ध हुने उनको भनाई थियो । देश विदेशीको गुलामबाट घेरिएको भन्दै उनले वैदिक सनातन धर्मबाट छुटाएकाहरुलाई एकजुट गर्नको निम्ति ओमकार हिन्दु सनातन चाहिने बताए ।

प्रतिक्रिया