यस्ता छन् एमसीसी अनुमोदन पछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले राजनीतिक पूर्वाग्रह द्वन्द्व र आन्दोलनको कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पाँच सय ८६ जना शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको हो । जसमा दुई सय ३३ जना शिक्षकको पुनर्बहाली हुने भएको छ । १८ जना शिक्षकको नियुक्ति, ४१ जना शिक्षकको हकमा सेवा सुविधा र दुई सय ८४ जना शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका हुन् ।
तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले दिएको प्रतिवेदनअनुसार आज मन्त्रिपरिषद्ले निर्णय गरेको हो । प्रचलित कानुन बमोजिम उनीहरूले सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्बहाली गर्ने सरकारले निर्णय गरेको छ ।
त्यस्तै, सरकारले कुनै मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता जनाएको छ । सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको हो ।

प्रतिक्रिया