कर प्रणाली समयसापेक्ष बनाउन चौतर्फी चुनौती

नेपालखोज २०७८ फागुन १७ गते ११:४३

काठमाडौं । विश्वमा सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तन सँगसँगै अर्थतन्त्रमा विद्युतीय व्यवसायको हिस्सा पनि बढ्दै गएको छ । सूचना प्रविधिको विकाससँगै विश्व अर्थतन्त्रको आधारभूत संरचना एवं कर प्रणालीमा पनि परिवर्तन हुँदै आएको छ । सन् २०१९ को कोभिड महामारीपछि सूचना प्रविधि र अनलाईन कारोबार ह्वात्तै बढेको छ ।

अधिकांश देशहरूले विद्युतीय कारोबार र इ–कमर्सलाई आफ्नो कर प्रशासनको अभिन्न अंग बनाएका छन् । तर विद्युतीय कारोबारमा करारोपणको सवाल चुनौतिपूर्ण छ । तथापि विकसित राष्ट्रहरूले विद्युतीय कारोबारलाई आर्थिक वृद्धिको महत्त्वपूर्ण आधार र राजस्वको वैकल्पिक स्रोतको रुपमा अंगिकार गर्न थालेका छन् । यसको अतिरिक्त परम्परागत कर प्रणालीमा सुधार गर्न विश्वका सबै मुलुकहरू कुनै न कुनै रुपमा क्रियाशील छन् ।

विद्युतीय प्रविधिको प्रयोगमार्फत करसम्बन्धी प्रक्रियालाई सरल पार्दै सेवा प्रवाहलाई चुस्त एवं पारदर्शी बनाउने, कर सहभागिता बढाउने, कर संकलनको लागत न्यूनीकरण गर्ने, स्वयं करमा सहभागिता जनाउने र कर प्रणालीलाई आर्थिक वृद्धि, रोजगारी सृजना, व्यवसायिक एवं लगानीमैत्री बनाउनेमा विश्व कर प्रशासन केन्द्रित छ ।

करको आधार विस्तार गर्ने सन्दर्भमा विद्युतीय कारोबार गर्ने तथा वातावरण प्रदुषण गर्नेले पनि कर तिर्नुपर्ने जस्ता नयाँ धारणाहरू स्थापित हुँदै गएका छन् । विद्युतीय कारोबार, ई–पेमेन्टको अतिरिक्त विभिन्न परिवर्तित प्रवृत्तिहरू विश्व कर प्रणालीमा देखापरेका छन् ।

परानो प्रविधिको पुनः सुधार गर्दै नयाँ प्रविधि एवं उपकरणहरू प्रयोग गरी उपलब्ध सबै विकल्पहरूको अनुसरण गर्दै अर्थ व्यवस्थामा डिजिटलाइजेशनले उत्पन्न गरेको अन्तर्राष्ट्रिय कर चुनौतीहरूलाई सम्बोधन गर्न उपयुक्त एवं प्रभावकारी प्रयासहरू प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दो क्रममा छ । यस्तै राष्ट्रिय कम्पनीहरूबाट कराधार क्षयीकरण, नाफा स्थानान्तरण, मूल्य हस्तान्तरण, ऋण हस्तान्तरणलगायतका विविध तरीकाहरू प्रयोग गरेर कर नियोजन (ट्याक्स प्लानिङ) गर्ने प्रवृत्ति बढ्दो छ ।

विश्वमा वातावरण प्रदुषणमा आधारित करारोपण सिद्धान्तको कार्यान्वयन बढ्दै गएको छ । कारोबारको लेखांकन तथा प्रतिवेदनमा विद्युतीय माध्यमको प्रयोग बढेको छ । यस्तै विद्युतीय कारोबारको सीमाविहीन स्वरुपले कर प्रशासनलाई वैधानिक कराधारको संरक्षण र सही करारोपणको लागि चुनौती थपेकोले सोको दीगो समाधान खोज्ने प्रयास बढेको छ ।

विद्युतीय कारोबारहरूमा इक्वेलाइजेशन लेभी तथा फिस्टान्डिङ ट्याक्स लागु गर्ने अवधारणाको क्रमिक विकास भएको छ । विद्युतीय व्यापारमा आएको व्यापकताले भौतिक उपस्थितिसहितको परम्परागत संस्थापनको सट्टा विद्युतीय उपस्थितिको संस्थापन मानी करारोपण गर्ने अवधारणाको द्रुत विकास भएको छ । अर्कातिर विद्युतीय व्यापारको परिमाणको आधारमा नाफाको बाँडफाँड गर्ने अवधारणाको विकास पनि हुँदो छ ।

विद्युतीय व्यापारलाई करको दायरामा ल्याउने सन्दर्भमा स्रोतको सिद्धान्त नै असान्दर्भिक हुन सक्ने भएकोले उत्पत्ति र गन्तव्यको सिद्धान्तको आधारमा करको विकास हुँदै गएको छ । कर विवरण तथा कर रकम दाखिला एवं करदाताको जिज्ञासा समाधानलाई सहज बनाउन विद्युतीय उपकरणहरूको प्रयोगमा व्यापक बढोत्तरी भएको छ ।

यस्तै विश्व परिवेशमा करदाताहरूको अपेक्षा पूरा गर्न तेस्रो पक्षसंँग सहकार्य गर्ने संस्कार बढेको छ । निजी तथा व्यवसायिक प्रतिष्ठानहरूबाट प्राप्त सूचना तथा तथ्यांकको प्रभावकारी उपयोग गरी कर जोखिमको न्यूनीकरण गर्ने प्रयास संस्थागत हुँदै गएको छ । नयाँ प्रविधिको प्रयोग गरी करदाताको कारोबार र सम्पत्तिसम्बन्धी आन्तरिक तथा बाह्य तथ्यांकमा पहुँच बढाइ कर छली नियन्त्रणमा प्रभावकारिता ल्याउने प्रयास भएका छन् । सानो संरचनाको कर प्रशासनबाट पनि चुस्त र प्रभावकारी सेवाको सुनिश्चितता हुनेमा विश्वास बढेको छ ।

विश्वका अधिकांश दशहरूमा करका दरहरू समयसापेक्ष समायोजन गर्दै कराधारको विस्तार गर्ने प्रचलन बढ्दो छ । विद्युतीय प्रणालीको प्रयोगबाट कर प्रशासन र करदाताको प्रत्यक्ष भौतिक सन्निकटता कम गरी कर प्रशासनको पारदर्शिता, प्रभावकारिता र जवाफदेहितामा बढोत्तरी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।

उपयुक्त सुधारका प्रवृत्तिको बावजुद विद्युतीय कारोबार गर्ने ठूला कम्पनीहरूलाई करको दायरामा ल्याउने, यस्ता कम्पनीको सम्पत्तिको अभौतिक एवं अदृष्य अवस्थितिको कारण देशगत आधारमा करारोपण गर्ने विषय जटिल हुँदै गएको छ ।

यस्तै भौतिक उपस्थिति नै नभई वस्तु तथा सेवाको कारोबार गर्न सकिने गरी भएको प्रविधिको विकासको कारण पनि कर प्रशासनले सही रूपमा करारोपण गर्ने विषय अत्यन्त जटिल बन्दै गएको छ । फलःस्वरुप विश्वव्यापी रुपमा कर प्रशासनमा भएको प्रवृत्तिगत परिवर्तनबाट थपिएका समस्या एवं चुनौती समाधान गर्न देशगत रुपमा गरिने कर शासनको सुधारलाई समय सापेक्ष बनाउने कार्य पनि कमशः कठिन एवं चुनौतिपूर्ण बन्दै गएको पाइन्छ ।

२०२० को तुलनामा सन् २०२१ मा संस्थागत आयकरको दर एसियाली मुलुक, आर्थिक सहयोग तथा विकास संगठनका मुलुक, अफ्रिकी मुलुक, दक्षिण अमेरिकी मुलुक, ल्याटिन अमेरिकी मुलुक र युरोपेली मुलुकहरूले सामान्य रूपमा घटाएको देखिन्छ ।

आयकरको दर घट्नुमा विश्वव्यापी रुपमा कोभिड–१९ को महामारी एक प्रमुख कारक निष्कर्ष छ । उत्तर अमेरिकी मुलुकहरूमा संस्थागत आयकरको दर स्थिर छ । त्यसैगरी व्यक्तिगत आयकरतर्फ एसियाली मुलुक, आर्थिक सहयोग तथा विकास संगठनका मुलुक, अफ्रिकी मलक, युरोपेली संघका मुलुक र अन्य युरोपेली मुलुकहरूले करको दर बढाएका छन् ।

यसैगरी उत्तर अमेरिकी, दक्षिण अमेरिकी तथा ल्याटिन अमेरिकी मुलुकहरूमा व्यक्तिगत आयकरको दर स्थिर रहेको देखिन्छ । सन् २०२० को तुलनामा सन २०२१ मा व्यक्तिगत आयकरको दरमा सामान्य रुपमा वृद्धि भएको पाइन्छ । त्यसैगरी विश्वमा अप्रत्यक्ष कर सन् २०२० को तुलनामा सन् २०२१ मा सामान्य रुपमा घटेको देखिन्छ ।

विश्व कर प्रणालीमा आयकरतर्फ रोजगारीमा आधारित आयको कर नै प्रमुख स्रोतको रुपमा छ । समतामूलक कर प्रणालीद्वारा सामाजिक न्याय स्थापित गर्न महत्त्वपूर्ण उपकरणको रुपमा रहेको व्यक्तिगत आयकरको विश्वव्यापी औषत दर सन् २००३ मा ३४ दशमलव २४ प्रतिशत रहेकामा सन् २०२१ मा घटेर ३१ दशमलव २५ प्रतिशत पुगेको छ । क्षेत्रीय रूपमा हेर्दा आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) मुलुकहरूमा यस्तो करको दर सवैभन्दा उच्च (४२ प्रतिशत) छ । सबैभन्दा न्यून एसियाली मुलुकहरूमा २८ दशमलव ३८ प्रतिशत छ ।

विश्वका अधिकांश मुलुकहरूले अप्रत्यक्ष करका रूपमा मूल्य अभिवृद्धि कर लागु गरेका छन् भने केही मुलुकले वस्तु तथा सेवामा आधारित कर (जीएसटी)का रूपमा अप्रत्यक्ष कर लागु गरेका छन् ।

यस्तै उदारीकरण र व्यापार सहजीकरणको नीतिसँगै विश्व व्यापार संगठनको स्थापनापछि धेरै मुलुकहरूले आयात र निर्यातमा लाग्दै आएको करको दर घटाउँदै आन्तरिक स्रोत परिचालनमा केन्द्रित गरेका छन् । विकसित मुलुकमा वैदेशिक व्यापारमा आधारित करको योगदान कम छ । विकासोन्मुख तथा अल्प विकसित मुलुकहरूमा भने व्यापारमा आधारित करको योगदान उल्लेखनीय छ ।

प्रतिक्रिया