राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने एमसीसी स्वीकार्दैनाैं : केपी ओली

नेपालखोज २०७८ फागुन १७ गते १४:२९

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकताअनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । ओलीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमसीसीमा एमालेलाई जोडेर हल्ला चलाइएको दाबी गरेका छन् ।

राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा संसदमा पेस गरेको र प्रदीप ज्ञवाली अमेरिका जाँदा आईपीएसको अंग बनाइयो भन्ने जस्ता हल्ला चलाइएको बताए । उनले भने, ‘निर्लज्ज ढंगले हल्ला चलाइयो । केपी ओली प्रधानमन्त्री हुँदा संसद्मा ल्याइयो र प्रदीप ज्ञवाली अमेरिका गएका बेला आइपीएसको अंग बनाइयो ।’

ओलीले एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सहकार्य र सल्लाह नभएको दावी समेत गरे । उनले भने, ‘सम्झौता गठबन्धनवालाले गरे । हामीसँग सहकार्य, सोधपुछ गरेको पनि होइन । त्यति बेला हामी प्रतिपक्षको हैसियतमा थियौं । हामीसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन ।’

ओलीले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणालाई तथाकथित भन्दै त्यसको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘तथाकतिथ व्याख्यात्मक घोषणा गर्नु भयो, त्यसको कुनै अर्थ छैन् ।’

ओलीले एमसीसीलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्नेमा राजनीति गरिएको समेत आरोप लगाए । उनले भने, ‘यसभित्र राजनीति नगरि यसलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्ने थियो । यसबाट मतभेद सिर्जना गर्ने, हुँडलो मच्चाउने काम भयो ।’

ओलीले माओवादी केन्द्र र एकीकृत समाजादीप्रति समेत कटाक्ष गरे । एमसीसीलाई राष्ट्रघाती भन्नेले के आधारमा त्यसलाई स्वीकार गरेको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘एमसीसीमा राष्ट्रघात भएको हो कि होइन ? होइन भने किन कार्यकर्ता परिचालन गर्नुभयो, कार्यकर्ता भत्काउनुभयो ?’

एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्‍बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया