भारतबाट फेरि इन्धनको मूल्य बढेर आयो, निगमलाई कति हुँदै छ घाटा ?

काठमाडाैं । नेपाल आयल निगमले आगामी १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ घाटा हुने स्थिति आएको बताएको छ । विज्ञप्ति जारी गर्दै आज निगमले मूल्य समायोजन गरेपश्चात् रुस र युकेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भएको जनाएको हो ।
रुस र युकेन बीचको तनावले उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेलसम्म पुगिसकेको जनाएको छ । मूल्य फेरि बढेर आएको हुनाले निगम घाटामा जाने भएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आज मार्च १, २०२२ (फाल्गुन १७, २०७८) मा प्राप्त नयाँ मूल्यअनुसार प्रति लिटर पेट्रोल ३.८९ रुपैयाँले बढेको, डिजेल रु. ३.०८ रुपैयाँले बढेको, मट्टितेल १०.३० रुपैयाँले बढेको, हवाई इन्धन ३.३२ रुपैयाँले बढेको र एल. पी. ग्यास प्रति सिलिण्डर ९९.१७ रुपैयाँले बढेर आएको हुँदा निगमलाई आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको छ ।’
चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्म निगमले २८ अर्ब रुपैयाँ नोक्सानी व्यहोरी सकेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम सानो अंशले मूल्य समायोजन गर्दा अब प्रति महिना करीब ६ अर्बभन्दा बढी रुपैयाँ नोक्सानी हुने स्थिति रही सो बराबरको रकम ऋण लिनुपर्ने वाध्यात्मक अवस्था सृजना भएको छ। निगमको सञ्चिती रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिदमा सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोष तथा ईन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी ईण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरिरहेको छ ।’
विकास निर्माणका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा निगम पुगेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘निगमको प्रशासकिय तथा सञ्चालन खर्च जम्मा प्रति लिटर ६० पैसा मात्र रहेको तथा हाल निगमको विकास निर्माणका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा रहेको निगमले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई अत्यन्त कठिन हुने देखिन्छ ।’

प्रतिक्रिया