एमसीसीका विषयमा एमाले मूकदर्शक बन्यो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका छन् । एमसीसीबारे प्रष्ट पार्न आज आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमालेले हुबहु एमसीसी अनुमोदन गर्न चाहेको पनि प्रष्ट पारे ।
उनले एमालेले तमासा देखाएको आरोप लगाए । नेपालले भने, ‘अन्तमा न समर्थन, न विरोध । एउटा प्रहसन, तमासा जस्तो सुनियो । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्यो, ऊ मुकदर्शक भएर बस्यो ।’
नेपालले आफ्नो पार्टीको अस्तित्व देखेर एमाले अध्यक्ष केपी शर्मा ओली विचलित भएको अरोपसमेत लगाए । उनले भने, ‘उनी विचलित हुनुको कारण हाम्रो पार्टी र हाम्रो पार्टीको अस्तित्व देखेर हो ।’
उनले आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसद्मा त्यसलाई उठान नपाउने दाबी गरे । उनले भने, ‘अदालतमा गएको कुरामा संसदमा कुरा उठाउन पाइन्छ ? संविधान, ऐनको उल्लघंन गर्ने काम केपी ओली एन्ड कम्पनीबाट हुँदै आएको छ ।’
आफ्नो पार्टी संवैधानिकरूपमा बनेको नेपालको दाबी छ । उनले भने, ‘हाम्रो पार्टी वैधानिकरुपमा स्थापित भएको हो । सर्वोच्च अदालतले ७६ को ९६० मा कुनै ह्वीप लाग्दैन भन्ने फैसला गरेको छ । त्यसमा कुनै कारबाही गर्न मिल्दैन्थ्यो ।’

प्रतिक्रिया