रेखा थापासहित १४ जनालाई राप्रपा केन्द्रीय सदस्यको जिम्मेवारी

काठमाडाैं । राप्रपाले नायिका रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । राप्रपाको महाधिवेशनमा महामन्त्रीमा पराजित थापालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेका हुन् । चर्चित नायिका थापा राजेन्द्रको प्यानलबाट चुनाव लडेर कमल थापा प्यानलकी कुन्ती शाहीसँग पराजित भएकी थिइन् । उनी माओवादी केन्द्र हुँदै राप्रपामा आएकी हुन् ।
मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौँ, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौँ रहेका छन् । यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

प्रतिक्रिया