नर्भिकमा बाँझोपन र स्त्री रोगको निःशुल्क परीक्षण

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले नारी दिवसका अवसरमा फागुन २१ गते शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म बिरामीको बाँझोपन तथा स्त्रीरोग सम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले एकदिने शिविर गर्न लागिएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टीभीएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफरसमेत ल्याइएको मिश्रले जनाए ।
शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्रीरोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेसन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरूमा स्वास्थ्य जाँचलगायत सेवामा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।
यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिबार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपीडी अभियानसमेत सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय छ ।
प्रतिक्रिया