बिहीबार, जेठ २, २०८२

युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजीमा विभिन्न देश जाँदै, के गर्दै छ एनआरएनए ?

नेपालखोज २०७८ फागुन १८ गते १२:३०

काठमाडौं । युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजीमा पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् । द्वन्द्वबाट प्रभावित तीन सय दुई जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् ।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोगका लागि उच्चस्तरीय समिति गठन गरिएको थियो । उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै विभिन्न देशमा पुगेको जानकारी दिएका छन् । समितिका अनुसार मंगलवारसम्म दुई सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, चार जना हंगेरी, २३ जना रोमानिया र चार माल्दावा पुगिसेका छन् ।

यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसँग सम्पर्क रहेको जानकारी दिए । उनले एनआरएनएका राष्ट्रिय समितिहरु उद्धार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिँदै एनआरएनए पोल्यान्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको बताए ।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको बताए । उनले पश्चिमी मुलुकहरुले रुससँगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संसय थपिएको बताए ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए । सुवेदीले युक्रेनमा रहेका नेपालीहरुको संख्या सोचेभन्दा अझ बढी हुनसक्ने बताए । समितिका सदस्य सचिव चिरन्जीबी खड्काले बैठकमा नेपालहरुको उद्धारको लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाए । उनले अत्याधिक चिसोका कारणले युद्ध पीडित नेपालीहरु थप समस्यामा रहेको जानकारी दिए ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जानकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । उनले युद्ध पीडित नेपालीहरुलाई आर्थिक अभाव रहेको बताए । उनले आफ्नै रेष्टुरेन्ट खाली गरेर १६ जना नेपालीहरु बस्न र खानाको व्यवस्था गरेको जानकारी दिए ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए । उनले केही नेपालीहरु अन्जानमा हंगेरीको सीमामा पुग्दा अलपत्र परेको समेत बताए । बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, सुरेन्द्र श्रेष्ठ (हङग्रेरी), सन्तोष भट्राई (जर्मनी) सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हङगेरी), निलम आचार्य (जर्मनी), लगायतले आफ्नो भनाईहरु राखेका थिए ।

बैठकमा युक्रेनको युद्धबाट ४ दिन हिडेर बाचेका दाङका बिक्रम खड्काले युद्धमा परेका बेला सामना गरेको कठिनाइ बारे जानकारी दिए । उनले युक्रेनदेखि हङगेरी पुग्दा बाटोमा बम पड्केको र ठुलो ठुलो आवाज सुुने अनुभव सुनाए । यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारको लागि सोमवारदेखि पोल्यान्डको सीमा क्षेत्रमा आफै खटिएका छन् भने नेपाली राजदूत रामकाजी खड्काले बुधवारदेखि सीमा क्षेत्रमा आफै खटिएर नेपालीहरुको उद्धार गर्ने तयारीमा लागेको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

प्रतिक्रिया