स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत !

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् ।
आज संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्कसमेत गरे । तर यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भईनसकेको उनको स्पष्टिकरण छ ।
प्रवक्ता महतले आवश्यक्ताको सिद्धान्त र आ–आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको दोहोर्याए । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए ।
प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताउ । उनले सभामुख अग्नीप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधिन मुद्धा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणा समेत राखे ।
चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो । महतले एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताएका छन् ।

प्रतिक्रिया