सबै जनताले खोप लगाए राजनीतिक दललाई फाइदा हुन्छ : गणेश तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पूर्ण मात्रा दिलाउनुपर्ने बताए । स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा उनले नेपालका राजनीतिक दलले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले खोप नलगाउने जनतालाई खोप लगाउन आग्रह गर्नुपर्ने बताए । उनले भने, ‘सबै जनताले खोप लगाए, सबै कोरोनाबाट बच्न सक्दछन् । जसले गर्दा राजनीतिक दललाई पनि फाइदा हुन्छ, त्यसैले अझ सक्रिय भएर खोपको सन्देश लिएर जनता समक्ष जाऔं ।’
सीमित साधनस्रोतका बाबजुद नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रण गरेको उनको दाबी छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिए । उनले खोप खरिदका लागि पत्रचार गरिसकिएको बताए । उनले आगामी वैशाखभित्र सबै १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्नेसमेत जनाइएका छन् ।
सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो । उनले कोरोना भाइरसविरुद्धको लडाइँमा अहिलेसम्मको अनुभवले अब क्षति नगर्नेसमेत बताए । उनले भने, ‘हामीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जुन किसिमको काम गर्यौं, त्यसको अनुभवले अब कोरोनाविरुद्ध लड्न सजिलो भएको छ ।’
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कोरोना भाइरस रोकथाम सबैको सहयोगबाट मात्र सम्भव भएको बताउनुभयो । विश्व स्वास्थ्य संगठन, नेपालका प्रमुख डा राजेश पाण्डवले कोभिड—१९ले मानिसलाई जीवन परिवर्तन गर्नसक्ने धेरै पाठ सिकाएको बताए ।
उनले कोभिड–१९ को कारणले हामीले यस्ता महामारी रोक्नका लागि आपत्तकालीन प्रतिकार्य योजनासहित तयार अवस्थामा बस्नुपर्नेमा जोड दिनुभयो । उनले कोभिड–१९ को खोप वैज्ञानिकले अहिलेसम्मकै सबैभन्दा छिटो विकास गर्न सफल भएको धारणा राखे ।
कार्यक्रममा कोभिड–१९ महामारीका सन्र्दभमा जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, कोभिड–१९ पश्चात देखिने स्वास्थ्य समस्या तथा व्यवस्थापनलगायत विषयमा राष्ट्रियसभाका सदस्यसँग छलफल गरिएको थियो ।
कर्णाली र सुदूरपश्चिमका प्रदेशसभाका सदस्यलाई पनि कोभिड–१९ र यसले पारेको प्रभावबारे मन्त्रालय तथा डब्लुएचओले प्रशिक्षण दिएको थियो ।

प्रतिक्रिया