प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्यो : राजेन्द्र लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध बिग्रिन् पुगेको बताए ।
प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको उनले बताए । उनले दलहरुको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भिर संकटतर्फ उन्मुख भएको बताए । अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बिचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको आरोप लगाए ।
जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनको दाबी छ । उनले भने, ‘अहिले प्रमुख राजनीतिक दलहरुका सत्ताकेन्द्रीत क्रियाकलापका कारण गम्भिर संकटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुका बिच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । लामो समयदेखि संसद भूमिकाविहिन छ । संसद केही राजनीतिक दलहरुको अर्कमण्यताका कारण बन्द छ । संसद संसदजस्तो छैन । अदालतमाथिको राजनीतिक हस्तक्षेप र अदालतभित्रै विद्यमान भ्रष्टाचारका कारण अदालत, अदालत जस्तो छैन । जनताले सरकार भएको अनुभुति गर्न नपाएको अवस्था छ ।
उनले वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य ठान्न नहुने बताए । उनले भने, ‘कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अगंमा भ्रष्टाचार, र भ्रष्टाचारमा सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन । आफुभन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जति भत्र्सनायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा लिनुपर्ने पनि छ । वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढीको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बल्लिन पुगेको छ । र नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ । सत्तापक्ष र प्रमुख राजनीतिक दलहरुका क्रियाकलापका कारण हुने नोक्सानीको मुल्य केवल सम्बन्धित राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन । त्यसको भार सिंगो मुलुकले बेहोर्नुपर्नेछ । अहिले देश त्यही बाटोतर्फ उन्मुख छ ।’
अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे। देशलाई कम्युनिस्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे । उनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए । उनले भने, ‘कम्युनिष्ट पार्टीहरु तथा नेपाली कांग्रेसले अवलम्वन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्वन गरेको निरन्तरतासहितको परिवर्तन नै हो । कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ । र त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ । यो वास्तविकता हो । राप्रपा बाहेक कम्युनिष्ट र कांग्रेसको विकल्प तत्काल अरु कुनै पार्टी बन्छ अथवा बन्न सक्ने सम्भावना छैन । त्यसैले आगामी दिनमा राप्रपालाई निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता हो ।’
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गरेको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेको आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठक बिहीबार पनि बस्ने उनले बताए ।
प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक मूल रुपमा आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुने उल्लेख गरे । बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरुलाई अनुमोदन पनि गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया