‘आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्न आवश्यकता’

काठमाडौं । बिमा समितिको आयोजनामा कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बिमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दे बिमा बारेका फरक/फरक बुझाईमा एकरूपता कायम गर्न बिमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई व्यापकता दिनुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालले विभिन्न प्रकोपका कारण हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक नोक्सानी कम गर्नका लागि सरकारले नै अनुदान दिएर बिमा गर्ने व्यवस्था गर्नुपर्ने बताए । प्रमुख सचिव दंगालले बिमा समितिको प्रादेशिक कार्यालय र प्रदेश सरकारबीच आपसी समन्वयका लागि नीति बनाउनुपर्ने उल्लेख गर्दै बिमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेतृत्व लिन प्रदेस सरकार तत्पर रहेको बताए ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकार जनताको नजिकको सरकार भएकाले जनतालाई बिमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवम् अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बिमाको पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्न प्रदेश सरकारले सम्पर्क व्यक्ति तोक्नु्पर्ने र प्रदेश बिमा नीति समेत बनाउनुपर्ने बताए ।
उनले बिमा समितिले समितिको प्रादेशिक कार्यालयलाई अधिकार सम्पन्न बनाउने जानकारी दिंदै बिमा कम्पनीहरूलाई पनि आ–आफ्ना शाखा कार्यालयहरूलाई अधिकार प्रत्योजन गर्न आग्रह गरे ।

प्रतिक्रिया