बिहीबार, असार १९, २०८२

‘एमसीसी परियोजनालाई पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य’

नेपालखोज २०७८ फागुन १९ गते १३:२३

काठमाडौं । अनुमोदन गरिएको एमसीसी परियोजना पाँच वर्षभित्रै सक्ने निर्णय गर्दै सत्तारुढ चार दलको बैठक सकिएको छ । बैठक बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई पाँच वर्षभित्रै सक्ने निर्णय भएका बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्री कार्कीले पाँच वर्ष भित्र करिव ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गर्ने निर्णय भएको बताए । मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको मन्त्री कार्कीको भनाइ छ ।

मन्त्री कार्कीले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुले अब एमसीसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरेका छन् । मन्त्री कार्कीले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने बताए । उनले आजको बैठकमा अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भुमिका र संसद अवरोधका बारेमा छलफल केन्द्रित भएको जनाएका छन् ।

मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, हवाइ उड्डयन जस्ता विधेयकहरुको बारेमा पनि छलफल केन्द्रित भएको प्रष्ट पारेका छन् । त्यस्तै आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको मन्त्री कार्कीले जनाए ।

मन्त्री कार्कीले बर्तमान गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकोले अझै अघि बढ्ने दाबी गरेका छन् । उनले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसीसीबाट जनतालाई रोजगार बनाउने दाबी गरेका छन् ।

प्रतिक्रिया