सोमबार, जेठ १४, २०८१

एमसीसी सम्झौतविरुद्ध फागुन २३ मा संयुक्त जनआन्दोलनको विरोधसभा

नेपालखोज २०७८ फागुन १९ गते १७:४५

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । रिपोर्टर्स क्बल नेपालमा आज पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोध सभामा सहभागी हुन आह्वान गरेको छ । संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपा मालेका नेता सिपी मैनालीले एमसीसी जनताको पक्षबाट असफल भए पनि संसदबाट स्वीकृत भएकोमा आपत्ति जनाए । अमेरिकाले कुनै पनि हालतमा एमसीसी सम्झौता संशोधन गर्न मन्जुर नभएको पटक–पटक जानकारी दिँदै आएको र व्याख्यात्मक टिप्पणीको अन्तराष्ट्रिय अर्थ नभएकोले जनताको आँखामा छारो हाल्ने काम मात्र भएको मैनालीले जिकिर गरे ।

संसदबाट पास गरेको व्याख्यात्मक घोषणा पत्रलाई नेता मैनालीले कथित व्याख्यात्मक घोषणाको संज्ञा दिए । इन्टरनेशनल कानुनअनुसार व्याख्यात्मक घोषणाको कुनै अर्थ नहुने पनि उनले जिकिर गरे । व्याख्यात्मक घोषणासहित संसदबाट जनताले विरोध गर्दागर्दै पनि पारित गरिएको उनले बताए । स्वस्थ र सैद्धान्तिक ढंगले संसदबाट एमसीसी पारित नगरिएको उनले आरोप लगाए ।

नेपालले एमसीसी सम्झौता अनुमोदन गरेकोमा खुशी हुँदै व्याख्यात्मक घोषणालाई अमेरिकाले ‘नोट’ गरेको जानकारी दिएपनि कुनै अर्थ नहुने उनले स्पष्ट पारे । राष्ट्रघाती धेरै काम भएको भन्दै उनले एमसीसी सम्झौता फेरी थपिएको बताए ।

त्यस्तै, संयुक्त राष्ट्रिय जनआन्दोल मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले एमसीसी कम्प्याक्ट प्रतिनिधि सभाबाट प्राविधिकरुपले अनुमोदन भएको बताएका छन् । उनले सम्झौतामा भएको १२ बुंदाको ६ को ८ मा एमसीसीको हैसियतको बारेमा बताउँदै एमसीसीको कारण नेपालमा हुने हानीको कुनै पनि दायित्व अमेरिकाले बहन नगर्ने उनले स्पष्ट पारे । उनले नेपाली कसैको मृत्यृ भएमा पनि अमेरिकालाई दोष लगाउन नपाइले बताए । १२ बुंदामा एमसीसीमा लेखेका शब्दलाई अन्य अर्थ लगाएर व्याख्या गर्न नपाइने पनि उल्लेख गरे । एमसीसीको सहायताले नेपालमा अर्थतन्त्रको वृद्धि गरिने भनिए पनि भनेको जस्तो केही नहुने उनको भनाई थियो ।

त्यस्तै, उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले केही वरिष्ठ अधिवक्ताहरु विदेशीको एजेण्ट बनेर व्याख्यात्मक टिप्पणीको ड्राफ्ट गरेको बताए । उनले अमेरिकाको सहमति लिएर निर्णय भएको टिप्पणी गरे । एससीसीको लागि नेपालले विद्युत प्रसारण लाइन जोड्नको लागि भारतको अनुमति लिन नपर्ने एमसीसीका पक्षमा वकालत गर्नेहरुले गर्दै आएको उनले सुनाए । इन्द्रचोकमा फागुन २३ गते हुने विरोध सभामा विशेष गरी काठमाडौं बासीन्दाहरुलाई साढे १ बजे उपस्थित हुन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया