सोमबार, असार २३, २०८२

निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट सुनिश्चित

८० वटा राजनीतिक दल दर्ता, निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिने

नेपालखोज २०७८ फागुन १९ गते १९:४६

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।

निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको बताएका हुन् ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका र तिनको अध्ययन भइरहेको भन्दै उनले निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिसकिने जानकारी दिए । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली पनि आयोगले सम्बन्धित निकायबाट पाइसकेको उनले उल्लेख गरे ।

आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि फागुन २० गतेदेखि २६ गतेसम्मको मिति तोकेको छ । सो अवधिमा मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने निवेदन दिने, कसैले झुठो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सो को विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्रै कामय गर्न निवेदन दिन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिन तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने आयोगका प्रवक्ता पौडेलले बताए ।

उनले मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमा हेर्न सकिने जानकारी पनि दिए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ आयोगका प्रवक्ता पौडेलले विद्युतिय मतदान प्रक्रियामा जानु चुनौतीपूर्ण भएकाले सो विषय छलफलकै क्रममा रहेको बताए ।

उनले कानुनको अभावका कारण विदेशमा रहेका नेपाली नागरिकहरुको मताधिकार संरक्षण गर्न सम्भव नभएको पनि बताए । आगामी दिनमा कानुन बनेर आएमा विदेशमा रहेका नागरिकले मतदान गर्न सम्भव हुने उनको भनाई छ ।

प्रतिक्रिया