नारायणकाजीको आरोप- प्रचण्डले पुँजीपति र दलालहरुसँग साँठगाँठ गरे

नेपालखोज २०७८ फागुन २० गते १८:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले अमेरिकासँग भएको एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको कडा आलोचना गरेका हुन् ।

बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गरे । श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् । उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

उनले अमेरिका साम्राज्यवादी शक्ति भएकोमा माओवादीहरु भ्रमित हुन जरुरी नभएको भन्दै विकास आफै बलवुताले गर्न सक्नुपर्ने बताए । उनले भने, ‘हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग सँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी बनेको छ ।’

श्रेष्ठले एमसीसी अनुमोदनप्रति गम्भीर असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष प्रचण्डसँगको ३५ वर्ष लामो सम्बन्धमा सबैभन्दा कठिन क्षण आएको बताए । उनले भने, ‘अध्यक्ष कमरेड प्रचण्डसँग मेरो २०५३ सालदेखिको सम्बन्ध हो तर उहाँले पत्रकार सम्मेलन गरेर मलाई पार्टी छोड्न भन्नुभएको छ ।’

उनले आफूलगायतका नेताहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष प्रचण्डले पार्टी छाडे पनि हुन्छ भन्नेसम्मको अभिव्यक्ति दिएको भन्दै तिव्र असन्तुष्टि पोखे । उनले पार्टी अध्यक्ष प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको पनि बताए । उनले पार्टी गम्भीर अवस्थामा पुगेको पनि बताएका थिए । यसअघि सम्बोधन गर्दै प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको भन्दै नेताहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । तर नेता श्रेष्ठले एमसीसीबारे व्याख्या गर्दै भने, ‘एमसीसीको मुल उदेश्य नै अमेरिकाको सुरक्षालाई सुदृढ गर्न आफ्नो हतियार प्रयोग गरेर अमेरिकाको विचार, राजनीति आर्थिक सामाजिक प्रणालीलाई विस्तार गर्ने हो ।’

उनले एमसीसीलाई बल्छीको संज्ञा समेत दिए । उनले भने, ‘यो बल्छी हो ।’

नेता श्रेष्ठले एमसीसीको उदेश्य गम्भीर प्रकृतिको रहेको भन्दै अमेरिकाले एमसीसीका नाममा दिने बजेट स्वीकार्नेले आफ्नो प्रणाली स्वीकार गर्नुपर्ने शर्त नै रहेको दावी पनि गरे । उनले अमेरिकी साम्राज्य विस्तार गर्ने योजना अनुसार नै एमसीसी आएकोमा दुईमत नरहेको भन्दै बुँदागत रुपमा व्याख्या गरेका थिए ।

उनले नेपालको सन्दर्भमा एमसीसी कम्युनिस्ट सिध्याउने योजनाअनुसार आएको पनि बताए । उनले भने, ‘नेपालको सन्दर्भमा यो के हो भने कम्युनिस्ट सिध्याउने, पूँजीवादलाई सुदृढ गर्ने र आफ्नो राष्ट्रिय सुरक्षा स्वार्थ पुरा गर्न रणनीतिका रुपमा उपयोग गर्ने ठोस योजना हो ।’

प्रतिक्रिया