औषधि उद्योगमा ५० हजारलाई रोजगारी दिइएको तथ्यांक सार्वजनिक

नेपालखोज २०७८ फागुन २१ गते ९:५४

काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ । संघले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो लागेको हो ।

संघका अध्यक्ष प्रज्वलजङ पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिएका छन् ।

नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ थियो ।

अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताएका छन् । उनले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने धारणा व्यक्त गरेका छन् । एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पुर्याइरहेको जानकारी दिएका छन् ।

एक्स्पोमा रहने १६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता हुनेछ । वार्षिक ६० अर्बको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् । नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार ५०० औषधि प्राविधिक र ५०० फर्मासिस्ट उत्पादन हुँदै आएका छन् ।

प्रतिक्रिया