शुक्रबार, वैशाख २६, २०८२

आईसीसी विश्वकप क्रिकेट ‘लिग टु’ तयारीका लागि नेपाली टिम आज श्रीलंका जाँदै

नेपालखोज २०७८ फागुन २१ गते ११:५५

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट ‘लिग टु’ का लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका जाँदै छ । यूएइमा आयोजना हुने विश्वकप लिग २ को तयारीका लागि नेपाली टिम आज श्रीलंका जान लागेको हो ।

श्रीलंकामा अभ्यास गरेपछि नेपाली टिम उतैबाट यूएइ जाने छ । नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले टिमको अबको चुनौती एकदिवसिय मान्यतालाई जोगाउने रहेको बताएका छन् । उनले नेपाल आएपछि टी-ट्वान्टीमा बढि केन्द्रित भएकाले एकदिवसिय खेलमा त्यति ध्यान नदिएको बताए । जसका कारण उनले त्रिकोणात्मक सिरिज अगाडी श्रीलंकामा चारवटा एकदिवसिय खेल खेल्ने योजना बनाएको बताएका छन् ।

उनले नेपाली टिमको उपकप्तान किन छनोट नगरेको भन्ने प्रश्नमा टिममा सन्दिपले कप्तानी गरिरहेको र उनलाई सिनियर खेलाडीले सहयोग गर्दै गरेकाले टिममा राम्रो लिडरको खाँचो भएको बताए । उनले टिममा ठूलो खेलाडीको खाँचो नभएको प्रतिक्रिया दिए ।

कप्तान सन्दिप लामिछानले टी-ट्वान्टीबाट एकदिवसियमा ढल्न केहि चुनौती भएको तर अहिलेको टिम त्यो चुनौतीलाई पार गर्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । साथै उनले सोमपाल कामी, करण केसी, बिक्रम सोब, रोहित पौडेल टिममा फर्किएकाले टिम राम्रो बनेको बताए । यूएइमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचिमा राखिएको छ।

मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पहिलो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर उनले अन्तिममा १६ खेलाडी प्रतियोगिताका लागि छनोट गरेका थिए । नेपाली टिमले यूएइ जानु अगाडी एकसाता श्रीलंकामा प्रशिक्षण गर्ने छ। जसमा उसले चार वटा अभ्यास खेलपनि खेल्ने छ।

श्रीलंकामा नेपालले पहिलो श्रेणीका टिमसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि टिम १४ मार्चमा यूएइ प्रस्थान गर्ने छ। नेपालले श्रीलंकामा हुँदा श्रीलंकन नेभीसँग दुई खेल खेल्नेछ भने एक खेल श्रीलंकन पुलिससँग खेल्नेछ । यस्तै अन्तिम खेल कम्बाइन ११ सँग खेल्नेछ । पहिलो खेल मार्च ७, दोस्रो खेल मार्च ८, तेस्रो खेल मार्च १० र अन्तिम खेल मार्च ११ मा खेल्ने छ। यूएइमा नेपालले घरेलु टिम र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ।

नेपालले पहिलो खेल सारजाह मैदानमा पीएनजीसँग खेल्नेछ । जुन १६ मार्चमा हुनेछ । नेपालले दोस्रो खेल यूएइविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल यूएइविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

टिमको अफिसियलमा कैलाश विष्ट म्यानेजर रहेका छन् भने सहायक प्रशिक्षकमा प्रकाश शर्मा, प्रशिक्षण सहयोगीमा राज शर्मा तथा एनालिष्टमा रमन सिवाकोटी, फिजियोमा विक्रम न्यौपाने छन् । ‘लिग टु’ मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ। उसको कुल आठ अंक छ।

नेपाली टिम

सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, बिबेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की छन् ।

प्रतिक्रिया