५ वर्ष कसरी सरकार चलाउने कम्युनिस्टलाई देखाउँछौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेकै कारण संसदमा गतिरोध सृजना भएको आरोप लगाएका छन् । निजामती कर्मचारी युनियनको कार्यक्रममा महामन्त्री थापाले एमालेले संसद अवरोध गरिरहे मंसिर अगाडि नै संसदीय निर्वाचन हुनसक्ने बताए ।
उनले स्थानीय तहको निर्वाचन वैशाख ३० मै हुने र कांग्रेसले जित्ने बताए । उनले भने, ‘आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा अगाडि हुन्छ भन्ने कुरा संसद् चल्ने/नचल्ने अवस्थाले निर्धारण गर्छ । एमालेले अवरोध गरिरह्यो भने यो संसद किन चलाइरहने भन्ने प्रश्न उठ्छ। त्यसतो अवस्थामा मंसिरअगाडि पनि चुनाव हुन सक्छ ।’
थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने स्पष्ट पारेका हुन् । एमाले संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई थियो ।
उनले कांग्रेसले ५ वर्ष सरकार चलाउने बताए । उनले भने, ‘हामीले एमालेलाई छलफल गर्न आउनुस भनिरहेका छौँ, उहाँहरु आउनुभएन भने त्योबेला संसद किन चलाइरहने भन्ने प्रश्न उठ्नसक्छ । त्यो अवस्थामा अगाडि नै चुनाव हुनपनि सक्छ तर स्थानीय तहको चुनाव बैशाख ३० मै हुन्छ । चुनाव हामी गराउँछौँ र ५ वर्ष सानदारसँग सरकार चलाएर देखाउँछौं ।’
उनले बैशाख ३० गते निर्वाचन गराउनै पर्ने, ऐन कानुनले चुनाव नगर्न एकदिन पनि छुट नदिएको बताए । बैशाख ३० गते काँग्रेसले निर्वाचन गराएरै छाड्ने उनको दाबी छ । २०७४ सालपछि कांग्रेसले चुनाव हारेपनि नेकपाको सरकार बनेको र ५ वर्ष नेपाली नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदापनि बाध्यताले सरकारमा रहेको बताए ।
उनले प्रतिपक्षमा बसेर भूमिका खेल्छौँ भनेपनि अहिले काँग्रेस सरकारमा रहेको बताए । उनले भने, ‘२०७९ सालमा कम्युनिस्ट पार्टीले नै निर्वाचन गर्नुपथ्र्यो । उनीहरुले आफ्नो घरमा आफैंले आगो लगाए । आगो लगाएर एकथरी देखाइदिन्छौं भन्दै खरानी धसेर निस्किए, अर्कोथरी मैले जिते भनेर खरानीको थुप्रोमै अट्टाहास गर्दै हासेर बसे । फेरि सरकारको जिम्मेवारी कांग्रेसकै काँधमा आयो । अरुलाई उचालिदिए पुग्छ, भत्काइदिए पुग्छ, हामीले सम्हाल्नुपर्छ, बचाउनुपर्छ ।’
कम्युनिस्ट पार्टीका कारण जनताले स्थिर सरकार नपाएको उनले बताए । उनले महाधिवेशनछि पार्टीलाई विधिसंगत रुपमा अगाडि बढाइरहेको बताए । उनले भने, ‘पार्टीको अधिवेशनपछि हामीले पार्टीलाई शतप्रतिशत विधिसंगत तरिकाले चलाउने प्रयास गरिरहेका छौँ । पार्टीभित्र शतप्रतिशत एकता कायम गर्ने कोशिष गरिरहेका छौँ । पार्टीको अधिवेशनमा सामान्य प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धापछि पार्टी सञ्चालनको कुरालाई विधिले डोर्याउनुपर्दछ भन्ने कुरामा एक ठाउँमा उभिएका छौँ । पार्टी सभापतिको हातलाई बलियो बनाउनुपर्छ । पार्टी सभापति संस्थाको प्रमुख भएकोले पार्टीलाई डोर्याउनुपर्छ । पार्टीभित्रको भागवण्डाको जुन काम हिजोदेखि चल्दै आयो त्यो बन्द गर्नुपर्छ भनेर एक ठाँउमा उभिएका छौँ ।’

प्रतिक्रिया