बुधबार, जेठ १, २०८२

हत्यामा संलग्न दुईजना पक्राउ

नेपालखोज २०७८ फागुन २१ गते १७:१०
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका ४, चण्डेश्वरी वनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका ७ घर भएका मदे भन्ने ३२ वर्षीय मानबहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका ५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका ८ घर भएका १६ वर्षीय किशोर रहेका छन् । बूढानीलकण्ठ ५, दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मानबहादुरको रक्ताम्मे अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बूढानीलकण्ठ नगरपालिका ५ स्थितमा मानबहादुरसँग भेट हुँदा याकुबले लागुऔषध खरिद गर्न नगद ३५ हजार रुपैयाँ दिएको र मानबहादुरले लागुऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मानबहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरी सख्त घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको हो । प्रहरीले घटनामा प्रयोग भएको एक थान बाँसको लठ्ठीसमेत बरामद गरेको छ ।

उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया