सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने विद्यार्थीहरुको माग

काठमाडौं । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरुले आफूहरुलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क अशुल गर्न खोजेको आरोप लगाएका छन् । त्यो आफूहरुलाई कदापी मान्य नहुने पनि उनीहरुको भनाई थियो ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरुले उक्त मेडिकल कलेजमा आफुहरुको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफुहरुलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका हुन् । उनीहरु गत मंसिर २८ गते देखि निरन्तर आन्दोलनरत छन् ।

कार्यक्रममा बोल्दै पीडित विद्यार्थी श्रद्धा मैनालीले तीन महिनादेखि जारी रहेको आफुहरुको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन् । उनले नोबेल मेडिकल कलेजबाट विद्यार्थीहरुमाथि मात्र नभएर अभिवाभकसम्ममा फोन जान थालेको बताइन् । त्यस्तै, कार्यक्रममा आन्दोलनरत पीडित विद्यार्थी तमन्ना कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
साथै, अर्की पिडित विद्यार्थी सदिक्षा आर्चायले आफुहरुले हार गुहार गर्दापनि राज्यले निरिहता देखाएको आरोप लगाइन् । तिन महिनासम्म विद्यार्थी सडकमा आउँदापनि चिकित्सा शिक्षा आयोग किन चुप लागेर बसेको छ ? भन्दै प्रश्न उठाइन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका पूर्व महामन्त्री बलदेब तिमल्सिनाले चिकित्सा शिक्षाजस्तो गम्भीर विषयका विद्यार्थीहरु सडकमा आएको तीन महिना हुँदासम्म समस्याको समाधान नभएकोमा दुःख व्यक्त गर्दै आफुहरुको साथ र समर्थन सधैं विद्यार्थीहरुको पक्षमा रहेको बताए ।
उनले संघर्षरत विद्यार्थीहरुको आवाज सरकारले सुन्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरुको माग पूरा गराउनको लागि आफूहरुलेपनि गम्भीर पहल गरेको सुनाए । उनले राज्य गैरजिम्मेवार बनेको भन्दै आक्रोश पोखे । उनले मेडिकल कलेज सञ्चालकहरु पनि उदासिन बनेको कुरा सबैले थाहा पाएको सुनाए । उनले तस्करी र माफियागिरी गर्न पल्किएकाहरुको हातमा शिक्षण संस्थाहरु सुम्पिँदा अहिलेको समस्या उत्पन्न भएको आरोप लगाए ।

त्यस्तै, नेकपा (एस) को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफुहरु पीडित विद्यार्थीहरुको आन्दोलनमा सँगसँगै रहेको बताए । यस्तै, उनले सुनील शर्मा मेडिकल शिक्षामा सबैभन्दा हानिकारका तत्व भएको आरोप लगाए । ‘तर, अहिलेसम्म सरकारले उनलाई कारबाहि गर्नु नसक्नु लज्जाको विषय हो’, उनले भने ।

त्यस्तै, मुलुकमा शिक्षा र स्वास्थ्यमा राज्य भन्दा व्यापारीहरु बलिया भएको भन्दै यस्तो अवस्था आउनु दुःखद् रहेको बताए । साथै, उनले अखिल क्रान्तिकारीले अहिले सरकारका शिक्षामन्त्रीलाई पटकपटक झक्झकाइरहेको उल्लेख गर्दै भने, ‘उनले मैले यस विषयलाई गम्भिरतापूर्वक लिएको छु भनेर भन्नुभएको छ । आशा छ, यो विषय छिट्टै टुँगो लाग्छ ।’
नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले ८२ दिनसम्म विद्यार्थीहरुको समस्या समाधान गर्न राज्यले तत्परता नदेखाएको भन्दै सरकार तत्काल गम्भीर हुन जरुरी रहेको बताए । साथै, उनले सुनिल शर्मा जस्ता माफियाहरुले देशका मन्त्री देखि प्रधानमन्त्रीसम्मलाई नचाईरहेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले एउटा सुनिल शर्माले देशको शासन सत्ता चलाइरहेको भन्दै सरकारले यस्तो लाचारीपनि देखाउनु दुःखद् रहेको बताए । उनले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले विद्यार्थीहरुमाथि लुट गरिरहेको भन्दै विद्यार्थीहरुको हितको लागि आफुहरु सधै लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै, नेकपा मसाल निकट विद्यार्थी संगठन अखिल छैटौंका नेता पुर्ण पोखरेलले मुलुकका माफीयाहरुको विरुद्धमा तिरन्तररुपमा लडिरहेको भन्दै पिडित विद्यार्थीहरुलाई सम्मान स्वरुप अभिन्दन गरेका थिए । यस्तै, राज्यले देशको शिक्षालाई ठेक्कामा लगाउको आरोप लगाए ।
वैज्ञानिक समाजवादी विद्यार्थी युनियनकी संयोजक राजेश्वरी सुवेदीले निरन्तर संघर्ष गरिरहेका विधार्थीहरुको साथमा आफुहरुको साथ रहेको बताइन् । विद्यार्थीले अघि सारेका उचित माग सरकारले सम्बोधन गर्नुपर्ने बताईन् ।

त्यस्तै, अखिल नेपाल विद्यार्थी युनियन तथा चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक मनिष भट्टराईले आफुहरु न्याय नपाएसम्म निरन्तर लडाइ लडिरहने बताए । सिभिल अस्पतालका डाक्टर मनिक अजितले विद्यार्थीहरुको पीडा आफूले पनि बुझेको भन्दै आफ्नो तर्फबाट सधै साथ रहने बताए ।
त्यस्तै, पीडित विद्यार्थी दिपेश पौडेल आफुहरुको माग सरकारले कुनै पनि हालतमा पुरा गर्नुपर्ने भन्दै कार्यक्रमको समापन गरेका थिए । पीडित विद्यार्थी अमृत रिजालले कार्यक्रमको सञ्चालन गरेका थिए । उनले पनि आफूहरुलाई अब स्थानान्तरण गरेर राज्यले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले अहिले देखिएको समस्या राज्यले निराकरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया