अडानद्वारा चार्टर्ड एकाउन्टेन्टले मात्र अडिट गर्न पाउने प्रावधान हटाउन माग
छैटौं राष्ट्रिय महाधिवेशन जेठमा हुने

काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान) ले राज्यका विभिन्न निकायको लेखापरीक्षण चार्टर्ड एकाउन्टेटबाट मात्र गराउने व्यवस्था हटाउन माग गरेको छ ।
अडानले उक्त व्यवस्था विभेदकारी भएको भन्दै त्यसलाई तत्काल सच्याई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट मान्यता प्राप्त लेखापरीक्षकबाट सम्बन्धित निकायको लेखापरीक्षण गरिनेछ भन्ने व्यवस्था गर्न माग गरेको छ । अडानको बैठकले छैटौं राष्ट्रिय महाधिवेशन २०७९ जेठ २० र २१ गते काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ । बैठकले लेखापरीक्षकहरूमाथि भए गरेका विभेदहरूको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरूको समाधान, बढ्दो मूल्यवृद्धि कम गर्न तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अडानले जनसरोकारका १७ बुँदे विशेष प्रस्ताव पारित गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
ती विशेष प्रस्तावमा देशमा हाल देखापरेको तरलता अभाव बढ्दै गइरहेको बजेट घाटा, कोभिडबाट प्रभावित आर्थिक अवस्था, न्यायलयमा देखापरेका समस्याहरूलाई सुझबुझपूर्ण समन्वयबाट समाधान गर्न नेपाल सरकारसमक्ष माग गर्ने, रसियाले छिमेकी राष्ट्र युक्रेनमा गरेको हमलाले विश्वको पछिल्लो राजनीतिलाई तरंगित तुल्याएको भन्दै दुवै देशका बीचमा भएको युद्धले विश्वको अर्थव्यवस्थामा हलचल ल्याएको, रसिया र युक्रेनबीचको तनावसंगै कच्चा तेलमा अस्वभाविक मूल्यवृद्धि हुनाका साथै सुन–चाँदीलगायत वस्तुहरू महँगिएकाले बिश्व सेयर बजारलाई नराम्रोसँग असर गरिरहेको जनाउँदै युद्ध अन्त्य र शान्तिका लागि यो बैठकले अपिल गरेको छ ।
२०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन जारी हुँदाका बखत नै रजिस्टर्ड अडिटरहरूका सम्बन्धमा विभेदकारी प्रावधानहरू कायम भएकोले अडानले आफ्नो स्थापनाकालदेखि नै यसमा सुधार गर्नुपर्ने माग जोडदार रूपमा उठाउँदै आएको कुरा सबैमा विदितै छ । यसर्थ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को संशोधन गरी परिवर्तित परिस्थतिमा नयाँ ऐन जारी गर्न नेपाल सरकारसँग बैठकले माग गरेको छ ।
अडानले सत्तरी वर्षदेखिको नेपालीको गणतन्त्रमार्फत राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना साकार पार्ने काममा सबै राजनीतिक पार्टी, सामाजिक अभियन्ता र विद्वतवर्ग आपसी मनोमालिन्य र संकीर्णताबाट माथि उठेर देश विकासमा लाग्नुपर्ने अवस्था रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रलाई मजबुत पार्दै जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न विशुद्ध राजनीतिभन्दा माथि उठी राज्यका तीनवटै तहका सरकारहरू लागि पर्दै जनसरोकारका विषयहरूमा केन्द्रित रहन माग गरेको छ ।
अडानले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट बिभिन्न लेखामान तथा लेखापरीक्षणमानहरू जारी भइसकेका बताउँदै अडानले उद्योगी, व्यापारी तथा संघ–संस्थाहरूले लेखामानअनुसार वित्तीय विवरण तयार गर्नुपर्ने लेखापरीक्षणमानका आधारमा लेखापरीक्षकले लेखापरीक्षण गर्नुपर्ने तर कतिपय उद्योगी व्यापारीहरूले लेखामानअनुसार वित्तीय विवरण तयार नगरेको सन्दर्भमा सम्बन्धित निकायहरूसँग समन्वय गरी सो कार्यान्वयन गर्ने वातावरण बनाउन नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरूसमक्ष माग गरेको छ ।
प्रतिक्रिया