आइतबार, जेठ ६, २०८१

पल शाह थप १२ दिन हिरासतमा, सोमबारबाट अदालतमा बयान

नेपालखोज २०७८ फागुन २२ गते १५:५३

काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने भएको छ । थुनामा राखेर अनुसन्धान गर्न आज जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो । १७ वर्षीया किशोरीले आफू पटक-पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् । फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी पनि परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा शाहविरुद्ध फागुन १५ मा अर्को जाहेरी परेको हो । नवलपुरमा दिइएको उजुरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख छ ।

यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । पीडित किशोरीले पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक-पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गरेको बताएकी छन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।

तनहुँ शुक्लागण्डकी न.पा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर उजुरी दर्ता भएको थियो । अहिले शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहँदै आएका छन् ।

शाहलाई म्याद थपका लागि आज जिल्ला अदालत लगिएको थियो । भोलिबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ ।

प्रतिक्रिया