बुधबार, जेठ १, २०८२

ललितपुरमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु, अनुसन्धान जारी

नेपालखोज २०७८ फागुन २३ गते १२:१८

काठमाडाैं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

कोन्जोसोम गाउँपालिका-४ मा मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आश्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान रहेका छन् । सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो ।

आइतबार साँझ खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् । उनका श्रीमान् २३ वर्षीय सुयास स्याङतान घाइते छन् । काइली, सुयासकी आमा हुन् ।

दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाई छ ।
यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको बताइएको छ ।

स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गर्‍यो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाइएको छ ।

अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया