माओवादीले चुनावपछि पदाधिकारी चयन र एमसीसीबारे छलफल गर्ने

नेपालखोज २०७८ फागुन २३ गते १२:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रलाई पदाधिकारी चयन गर्न सकस परेको छ । माओवादीले विवाद बढ्ने भएपछि पदाधिकारी चयनलाई थाती राखेर अगाडि बढ्ने निर्णयमा पुगेको हो ।

माओवादीले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावपछि मात्रै पदाधिकारी छान्ने भएको छ । पदाधिकारीबारे सहमति र गृहकार्य बाँकी नै रहेकाले पदाधिकारी छनोट स्थानीय चुनावपछि मात्रै हुने बताइएको छ । जारी केन्द्रीय समिति बैठक पदाधिकारी चयन नै नगरी टुंगिने भएको हो । बैठकका ६ वटा एजण्डामध्ये पदाधिकारी चयन पनि एक हो ।

माओवादीले सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनको एजेण्डा राखेको थियो । तर, पटकपटक सर्दै आएर शुक्रबारदेखि बसेको यो बैठकमा पनि पदाधिकारी चयन टरेको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार बस्ने कुरा थियो । तर आइतबार पनि दुई पटक समय सर्‍यो बैठक भने बस्न सकेन् ।

पार्टी स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने भएक‍ाले पदाधिकारी चयनलगायतका विषयलाई पछि धकेलिएको एक नेताले जानकारी दिए । एमसीसीमाथिको छलफल पनि त्यतिबेलै गराउने पक्षमा अध्यक्ष प्रचण्ड पुगेका छन् । एमसीसी र पदाधिकारी चयनले पार्टीमा अन्तरसंघर्ष बढाउने आँकलन गर्दै माओवादीले तत्कालका लागि यो विषय टार्न खोजेको हो ।

पार्टीका एक नेताका अनुसार महासचिव छनौटमा ‘सकस’ पर्ने देखिएपछि पदाधिकारी चयन अहिले नहुने भएको हो । माओवादीमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ र देवेन्द्र पाैडेलले महासचिवका लागि दाबी गरिरहेका छन् । तीमध्ये वर्षमान र जनार्दनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

चुनावको मुखमा एमसीसीमा असन्तुष्ट नेताहरू र पदाधिकारीका आकांक्षीको रस्साकस्सीले पार्टी एकता धरापमा पर्न सक्ने बुझेर प्रचण्डले मध्यमार्गी प्रस्ताव ल्याउन खोजेको नेताहरूको बुझाइ छ । आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गरेर सक्ने तयारी रहेको ती नेताले बताए ।

सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुबीच भएको छलफलमा पनि पदाधिकारी चयन निर्वाचनपछि नै गर्नेगरी छलफल भएको ती नेताले बताए । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, एमसीसी र स्थानीय निर्वाचनबारे ब्रिफिङ गरेका थिए । त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्दै एमसीसी अनुमोदनप्रति असन्तुष्टि जनाएका थिए । उनले प्रचण्डलाई दलाल र पुँजीपतिसँग साँठगाँठ गरेको आरोप लगाएका थिए ।

माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नुपर्नेमा यसअघि २४७ जनामात्रै चयन गरेको थियो । माओवादी केन्द्रको बैठक भने जारी छ ।

प्रतिक्रिया