शुक्रबार, वैशाख २६, २०८२

एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

नेपालखोज २०७८ फागुन २३ गते १८:५०

काठमाडाैं । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफ फुटबल क्लबलाई २–१ को गोलान्तरले हराउँदै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औं मिनेटमा सुशील राईले गोल गरे । ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए । तर, गोलपछि सम्हालिन नसक्दा एपीएफले गोल फर्कायो । एपीएफका लागि खेलको इन्ज्युरी समयमा दीपेश धिमालले सान्त्वना गोल फर्काए ।

खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौं मिनेटमा एपीएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् । १३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रसर एपीएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।

४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पास्ट नजिकैबाट बाहिरियो ।

जीतसँगै सातदोबाटो क्लब पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई सोमबारको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले नगद १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेताले नगद ६ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ ।

प्रतिक्रिया