मंगलबार, असार ५, २०८१

सरकारलाई विक्रेताको धम्की : माग पूरा नभए ग्यास बिक्री बन्द गर्छौं

नेपालखोज २०७८ फागुन २३ गते १९:१२

काठमाडाैं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष छ बुँदे मागपत्र पेस गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले नेपाल आयल निगमसमक्ष मागपत्र पुनः पेस गरेर माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ ।

नेपाल एलपी.ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरु सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने तथा एल.पी.जी. विनियमावली, विक्रेता विनियमावली तथा दुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागीतामा परिमार्जन सहित संशोधन गर्नु पर्ने माग राखेको छ ।

मागपत्रमा आयल निगममार्फत पेट्रोलियम व्यवसायीक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनु पर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनुपर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउदै आएको कमिशन स्थगन भएकोमा फागुन १९ गतेबाट नै पाउनुपर्ने माग गरिएको छ । यस्तै, एल.पी. ग्यास ढुवानी गर्ने साधनको भाडादर स्वचालित हुनुपर्ने माग पनि रहेको छ ।
समितिले अघि सारेका आन्दोलनका कार्यक्रमहरूमा चैत ५ गतेदेखि १५ गतेसम्म स्थानीय स्तरका पेट्रोलियम ब्यवसायीहरु स्थानीय एशोसिएशन, पेट्रोलियम ढुवानी ब्यवसायी संघ, तथा एल.पी.ग्याँस उद्योग संघका स्थानीय प्रतिनिधिहरुबाट स्थानीय स्तरका आन्दोलन समिति गठन गर्ने रहेको छ ।

चैत ६ गतेबाट सम्पूर्ण एल.पी. ग्याँस उद्योगहरुले नेपाल आयल निगमबाट पी.डी.ओ खरिद नगर्ने तथा चैत १० गतेबाट सम्पूर्ण एल.पि. ग्याँस उद्योगहरुले भारतका सबै रिफाईनरीहरुबाट एल.ग्यास लोड बन्द गर्ने आन्दोलनका कार्यक्रम अघि सारिएको छ । चैत १४ गतेबाट एल.पी.ग्याँस उद्योगहरुले सबै नाकाहरुबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ गतेबाट राज्यभरका पेट्रोलियम पदार्थको ढ्वानी टैंकरहरुले पी.डी.ओ नलिने भनिएको छ । समितिले चैत १७ गतेबाट राज्यभरका एल.पी.ग्याँस उद्योगहरुबाट विक्रेताहरुलाई बिक्री बितरण बन्द गर्ने, चैत १८ गतेबाट पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङ अनलोडिङ बन्द गर्ने तथा बिक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने जनाइएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २० गतेबाट उल्लेखित मागहरु पूरा नभएसम्म राज्यभरी एल.पी.ग्यास उद्योग र ग्याँस बिक्रेताहरुले ग्याँस बिक्री बन्द गर्ने बताएका छन् । पेट्रोलियम ढवानी टैंकरहरुले ढ्वानी कार्य बन्द गर्ने जनाइएको छ ।

प्रतिक्रिया