प्रधानमन्त्रीले भने- महिलाका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको उल्लेख गरेका छन् ।
११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले देशको मूल कानूनले गरेका समस्त व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नमा जोड दिएका छन् । उनले महिलाको लैंगिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुन आवश्यक रहेकामा पनि जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाले लंैगिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको दाबी समेत गरेका छन् ।
नेपालको लैंगिक विकास सूचकांकमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूले राम्रो प्रतिफल दिएको मान्न सकिने प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्ने तथा जीवन समर्पण गर्ने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरण गरेका छन् ।‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन मंगलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।
प्रतिक्रिया