आइतबार, वैशाख १४, २०८२

हेलिकप्टरबाट गोसाइँकुण्ड घुम्न जाने यात्रुको सँख्या बढ्दै

नेपालखोज २०७८ फागुन २४ गते १४:३४

काठमाडौं । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो रहेको छ । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ ।

उकालो बाटो हिड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जानका लागि हेलिकप्टर रोज्न थालेका हुन ।स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढिरहेको बताए । गोसाइँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएको छ ।

गोसाइँकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायकदेखि कुण्डसम्म लेक लाग्ने समस्या बढेको छ् । आउन जान तीन÷ चार दिनको समय लाग्ने एवं पैदल तथा हवाईमार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रु हेलिकप्टरतर्फ केन्द्रित हुन थालेका हुन् ।

हेलिकप्टरले काठमाडौँको एयरपोर्टबाट २६ मिनेटमै गोसाइँकुण्ड पु¥याउने र पैदलमार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाइँकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले जनाएको छ् । गोसाइँकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउण्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

हवाइमार्गबाट गोसाइँकुण्डको तीर्थ गर्दा बाटोमा देखिने अग्ला सेताम्मे हिमाल, झरिरहेका पानीका झर्ना, हरियाली वन, ताल तलैयाले यात्रा मनमोहक बनाउने गरेको हावाइयात्रु काठमाडौँ सीतापाइलास्थित जनउद्वार माविका शिक्षक राजु केसीले बताए ।

पुस, माघ तथा फागुन महिनामा भने बढी हिमपात हुने कारण यस क्षेत्रको दृश्य निकै मनमोहक देखिन्छ । पोखरीमा हिउँ जमेको समयमा हवाइमार्गबाट गएका भक्तजनले भगवान विराजमान रहनुभएको पवित्र कुण्डमा हिँड्ने गरेको पाइएकोले यस्ता कार्य नर्गन अनुरोध गरिएको छ । धार्मिक मान्यताअनुरूप कुण्डमाथि हिँड्दा पुण्य प्राप्त नहुने र अर्काे तर्फ जमेको हिउँमाथि हिँड्दा हिँड्दै फुटेर गाडिन सक्ने सम्भावना भएकाले गोसाइँकुण्डको तालमाथि नहिँड्न पुजारीले आग्रह गरे ।

प्रतिक्रिया