शनिबार, असार २१, २०८२

नारीलाई संरक्षण गर्नुपर्छ भन्दा ‘हार्दिक श्रद्धाञ्जली’ लेखियो : रेखा थापा

नेपालखोज २०७८ फागुन २४ गते १२:५५

काठमाडौं । अभिनेत्री रेखा थापाले नबालिग गायिकाको पक्षमा बोल्दा समाजबाट दुत्कार सहनुपरेको गुनासो गरेकी छन् । महिला दिवसका सन्दर्भमा आयोजित सडक बहस कार्यक्रममा उनले यतिबेला पनि पहिला जस्तै सतीप्रथामै रहेको आभास भएको बताइन् ।

पल प्रकरणलाई जोड्दै उनले चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताइन् । उनले भनिन् ‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस् ।’

महिलालाई नै खराब भन्ने खालको सोच समाजमा देखिएको समेत उनले आरोप लगाइन् । उनले भनिन्, ‘त्यो नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखियो । हामी त अझै सतीप्रथामा छौं कि क्याहो जस्तो महुसस भयो मलाई त ।’

उनले नेताको विरुद्धमा जाने समेत बताइन् । उनले चुनाैती दिँदै भनिन्, ‘जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’

प्रतिक्रिया