रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा

काठमाडौं । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत मुलुकमा पुगेका छन् ।
शर्माका अनुसार हालसम्म पोल्यान्डमा ४४३ जना, स्लोभाकिया ७८, रोमानियामा २४, हंगेरीमा १३, र ४ जना माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट विस्थापित भई विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतिर लागेका छन् । तीमध्ये करिब चार दर्जन नेपाली गैरआवासीय नेपाली संघ प्रोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जानकारी दिए । थापाका अनुसार ती नेपालीहरूलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।
यसैबीच युक्रेनको खारकिभ सहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रूपमा पोल्यान्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरन्जीवी खड्काले जानकारी दिए । यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सक्रिय रहेको छ । युद्धबाट विस्थापित नेपालीहरूको उद्धारका लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफैं खटिएका थिए ।
युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ । उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरूको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ ।
प्रतिक्रिया