कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै जेठमा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ । परीक्षा भौतिक उपस्थितिमा नै हुने बोर्डले जनाएको छ ।
कोरोना महामारीको प्रभाव कम हुँदै गएकाले भौतिक उपस्थितिमा नै परीक्षा हुने भएको हो । केही सञ्चार अनलाइन माध्यमहरुबाट परीक्षा नहुने बताइए पनि अन्यौलमा नपर्न बोर्डले सुझाव दिएको छ । यस वर्ष करिब चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन्।
कक्षा–१२ को परीक्षा तालिका फागुनभित्र सार्वजनिक गर्ने तयारी रहेको बताए। बोर्डका अनुसार परीक्षा समय स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तोकिने छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको हुँदैछ।
पछिल्लो समय कोभिड-१९ संक्रमणको अवस्था कम भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि भौतिक उपस्थितिमै गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।
बोर्डका अनुसार सबै जिल्लामा दुई हजार परीक्षा केन्द्र तोकिएको छ। ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसईई परीक्षा दिँदैछन् ।
प्रतिक्रिया